आर्थिक सूचकहरू चिन्ताजनक अवस्थामा : अध्यक्ष गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरू चिन्ताजनक अवस्थामा रहेको बताएका छन् ।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । 

उनले लामो समयदेखि अर्थतन्त्रमा समस्याहरू आइरहेको बताए । अर्थतन्त्रको अहिलेको अवस्थालाई दीर्घकालिक रुपमा समाधान गर्नुपर्ने आवश्यकता रहेको गोल्छाको भनाई छ ।

अध्यक्ष गोल्छाले अर्थतन्त्रमा देखिएका समस्या फण्डामेन्टल भएको भन्दै  अर्थतन्त्रमा देखिएको समस्याबाट लयमा फर्किनको लागि केही महिना लाग्नसक्ने बताए ।

उनले उद्योग व्यवसायीहरू फस्टाए मात्रै विज्ञापन व्यवसाय बढ्ने बताए । गोल्छाले अर्थतन्त्र संकुचन हुने अवस्था रहेकाले उद्योग र विज्ञापन व्यवसायसमेत सङ्कुचन पर्ने बताएका छन् ।

अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासंघको भिजन पेपरले नेपालको विज्ञापन बजारको दायरालाई फराकिलो बनाउने कार्यमा ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् । उनले कोभिडको कारण विज्ञापन बजार पनि सोचेको जस्तो बिस्तार हुन नसकेको बताए ।

अध्यक्ष गोल्छाले नेपालको विज्ञापन बजार कोभिडको प्रभाव नपरेको भए २० अर्ब पुग्ने अवस्थामा रहेको बताए ।

उनले नेपालमा स्वदेशी विज्ञापन ६० प्रतिशत र विदेशी विज्ञापनको ४० प्रतिशत रहेको बताए । गोल्छाले कम्पनी रजिस्टारको कार्यालयमा २६ सय विज्ञापन एजेन्सीहरू दर्ता भएको पनि बताएका छन् । अध्यक्ष गोल्छाले विज्ञापन व्यवसायले ३५ हजार युवालाई रोजगारी दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्