चिनियाँ नेता लीको भ्रमणले काठमाडौंका सडकमा यातायात प्रभावित, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह



काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको उच्चस्तरीय राजनीतिक भेटघाटका कारण आज काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ।

उपत्यकामा बिहान ९ बजेदेखि नै सवारी आवागमन प्रभावित हुँदा विभिन्न स्थानमा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ। रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माईतिघर, नयाँ बानेश्वरदेखि तिनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

त्यस्तै साढे ११ बजेको आसपासमा तिनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माईतिघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवन सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ।

दिउँसो साढे ३ बजे भने रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली , माईतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ।

त्यस्तै दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माईतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने ट्राफिक प्रहरीका कार्यालयले जानकारी दिएको छ।

उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ। ३ दिने नेपाल भ्रमणमा आएका चिनियाँ सभामुखले आज उच्चस्तरिय राजनीतिक भेटवार्ता गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्