दसैँंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला



  • रमेश पौडेल

काठमाडौं । दसैँका लागि उपत्यका छोडेर बाहिरी जिल्ला जाने यात्रुका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला भएको छ। यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उपत्यकामा ७ ठाउँबाट बुकिङ खुला हुने छ।

गोङ्गबु बसपार्क, चाबहिल, कोटेश्वर, कलङ्की, बालाजुलगायत ७ ठाउँमा अग्रिम टिकट बुकिङ खुला हुनेछ। तीमध्ये कुनै पनि स्थानबाट यात्रुले आफू जाने ठाउँको अग्रिम टिकट काट्न सक्नेछन्। त्यसको अलावा अनलाइनबाट समेत यात्रुले टिकट बुकिङ गर्न सक्ने यातायात व्यवसायीले बताएका छन्।

यस वर्ष अनलाइन टिकट बुकिङलाई बढी प्राथमिकता दिइएको यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिएका छन्। ‘यात्रुहरू पनि बिचौलियबाट बच्नुपर्‍यो। हाम्रा आधिकारिक कार्ड, टिसर्ट लगाएका प्रतिनिधिबाट मात्र टिकट काट्ने, सम्बन्धित काउन्टरमा गएर मात्र टिकट काट्ने गरेमा यात्रु ठगिनबाट बच्न सक्छन्’, अध्यक्ष स्वाँर भन्छन्।

विगतका वर्षमा दसैँमा २० लाख यात्रुले काठमाडौं उपत्यका छाड्ने गरेका थिए । यस वर्ष त्यो सङ्ख्यामा वृद्धि हुने महासङ्घको भनाइ छ। त्यसका लागि दैनिक १ हजारौँका सङ्ख्यामा सार्वजनिक यातातात सञ्चालन हुन्छ। झन्डै ६० हजार सार्वजनिक यातायात उपत्यकाबाट बाहिरिने महासङ्घको अनुमान छ।

त्यसमा २२ लाखभन्दा बढी यात्रुले उपत्यका छोड्ने अनुमान रहेको छ। यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र महासङ्घको समन्वयमा अग्रिम टिकट बुकिङ खुल्ला गर्न लागिएको छ।

सडकको अवस्था नाजुक

आजदेखि अग्रिम टिकट बुकिङ खुला भ्उ पनि वर्षाका कारण सडकको अव्स्था नाजुक रहेको यातायात व्यवसायी बताउँदै आएका छन् । तर सडक विभागले त्यसप्रति चासो नदिएको व्यवसायीको आरोप छ ।

महासङ्घका अध्यक्ष स्वाँर भन्छन्, ‘सडकको अवस्था नाजुक छ, सडक विभागले त्यसप्रति चासो दिएको छैन । अग्रिम बुकिङ खुला भए पनि यात्रुले समयमा गाडी चढ्न र ओर्लन पाउँदैनन् ।’ सडक बिग्रिएका कारण अघिल्लो दसैंँमा घर जाने यात्रुले बाटोमा धेरै समय बिताउनुपरेको व्यवसायीको अनुभव छ ।

सडकको खाल्डा मात्र भए पनि पुर्न यातायात व्यवसायीको माग रहेको छ । यदि सडकको खाल्डो नपुरिए अप्रिय घटना घट्न सक्ने सम्भावना रहेको व्यवासयीको भनाइ छ । तर सडक विभागले भने सडक मर्मतको काम भइरहेको बताएको छ।

सडक धेरै नबिग्रिएको विभागको भनाइ छ। सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीका अनुसार पानी परेकाले मर्मत गर्न केही ढिला भएको तर अब चाँडोभन्दा चाँडो सडक मर्मत हुने बताएका छन्।

ट्राफिक व्यवस्था चुस्त

दसैँको बेला हजारौँको सङ्ख्यामा सवारी साधन उपत्यका बाहिरिने भएकाले ट्राफिक व्यवस्था भद्रगोल हुने गरेको छ। अन्य समयमा समेत ट्राफिक व्यवस्थाको कारण यात्रुले सास्ती भोगिरहेका हुन्छन्। यस वर्ष दसैँको बेला ट्राफिक व्यवस्था चुस्त गर्ने प्रहरीको भनाइ छ।

ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार विगतका वर्ष भन्दा यो वर्ष ट्राफिक व्यवस्था चुस्त गरिने उनको भनाइ छ। यात्रुको सहजताका लागि ट्राफिक व्यस्थामा कुनै कमी नआउने उनको भनाइ छ।

दसैँका बेला यात्रुको चोरी, लुटपाटका घटना पनि बढी हुने भएकाले प्रहरीले त्यसलाई कम गर्न तयारीसमेत थालेको छ। महानगरीय प्रहरी परिसरका प्रमुख डीएसपी भरत बोहोराका अनुसार अप्रिय घटना घट्न नदिन आवश्यक तयारी भइरहेको छ।

बोहोरा महानगरीय प्रहरी परिसरले आवश्यक तयारी गरिरहेको बताउँछन्। तर अहिले तयारीको खाका बन्ने क्रममा रहेकाले ठोस रूपमा भन्न नसक्ने बताए । सम्पूर्ण कुराको टुङ्गो लागिसकेपछि पूरा विवरण गरेर सार्वजनिक गर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्