संविधानको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन् । मुलुकमा लोकतन्त्रिक प्रणालीलाई थप मजबुत पार्ने तथा संविधानको रक्षा र पालना गर्ने काममा निरन्तर क्रियाशील र प्रतिबद्ध रहेको उनको भनाइ छ ।

८ औं  संविधान दिवसका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले आगामी निर्वाचनबाट संविधानले आत्मसात् गरेको लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यता तथा सबैको हक र अधिकार व्यावहारिक रुपमा स्थापित हुने उल्लेख गरेका छन् ।

‘संविधानको कार्यान्वयन गर्दै हाम्रा साझा हक अधिकारलाई स्थापित गर्ने तथा मातृभूमिको विकास र समुन्नतिलाई सुनिश्चित गर्ने दिशामा सदा झैँ सम्पूर्ण नेपाली नागरिकको साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वास लिएका छन्,’ उनको भनाइ छ ।

देउवाले जनताको चाहनाअनुरूप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन् ।

संविधान दिवसका अवसरमा उनले सबै नेपालीमा शुभकामना व्यक्त गर्दै मुलुकको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्