एनटीएनसीका पूर्वसदस्य-सचिव गजुरेलको निधन



काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)का पूर्वसदस्य-सचिव गोविन्द गजुरेलको निधन भएको छ । ६९ वर्षीय उनको उपचारका क्रममा भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा आइतबार निधन भएको हो ।

पोस्ट कोभिडको समस्या देखिएपछि गजुरेललाई गत शुक्रबार दिल्ली पुर्‍याइएको थियो । ‘उहाँलाई ३-४ रात काठमाडौंको ह्याम्स अस्पतालमा राखिएको थियो, अवस्था सुधार नहुने भएपछि दिल्ली पुर्‍याइयो,’ उनका कान्छा भाइ ओम गजुरेलले द नेपालटपसँग भने, ‘शनिबार अबेरसम्म अवस्था सुधार पनि भइरहेको थियो, तर आज विहान हामीले दुःखद खबर पायौं ।’

गजुरेल २८ कार्तिक २०७० देखि ५ वर्षसम्म एनटीएनसीमा सदस्य-सचिव थिए । सिन्धुलीका गजुरेल ‘हेड सर’का नामले जिल्लामा चर्चित छन् । जिल्लाको शैक्षिकस्तर सुधार्न गत २७ भदौमा पनि उनी सिन्धुलीका शिक्षकहरूसँग अन्तक्रियामा सहभागी थिए ।

रामेछापको ठोसेस्थित शारदा माध्यामिक विद्यालय, सिन्धुलीको कमला माध्यामिक विद्यालयमा लामो समय अध्यापन गरेका गजुरेल प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) लाहान र जिरीका पूर्वप्रमुख र सिटिइभिटीका पूर्वसदस्य-सचिव थिए ।

प्रतिक्रिया दिनुहोस्