नेप्सेमा ११.३६ अंकको वृद्धि, कारोबार रकममा पनि सुधार



काठमाडौं । लगातार २ दिन घटेको सेयर बजारमा साताको चौथो कारोबार दिन बुधबार भने दोहोरो अंकले वृद्धि भएको छ। बुधबार बजार परिसूचक नेप्से ११.३६ अंकले वृद्धि भएर १८६६.५२ अंकमा बन्द भएको छ। यस्तै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.४८ अंकले वृद्धि भएर ३६६.११ अंकमा बनद भएको छ।

दसैं पछिको पहिलो कारोबार दिन आइतबार नै ४४ अंकको उच्च वृद्धि भएको नेप्से त्यसपछिको सोमबार र मंगलबार लगातार २ दिन घटेको नेप्सेमा बुधबार भने बढेर बन्द भएको छ। नेप्सेमा वृद्धि हुँदा उपसूचकहरुमा पनि म्युचुअल फण्ड र व्यापार बाहेक सबै बढेका छन् ।

नेप्सेमा सुधार हुँदा बुधबार कारोबार रकम पनि वृद्धि भएको छ। मंगलबार ५५ करोडमा झरेको कारोबार रकम बढेर करिब ७० करोड पुगेको हो। बुधबार बजारमा २० लाख ८५ हजार २८४ कित्ता सेयर किनबेच हुँदा ६९ करोड १७ लाख ३८ हजारको कारोबार भएको छ। जसमध्ये नबिल बैंकको २ करोड ४० लाख १२ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको २ करोड २ लाख ६४ हजार र एनआईसी एशिया लघुवित्तको संस्थापक सेयर १ करोड ८९ लाख ७७ हजारको किनबेच भएको छ।

बुधबार बजारमा कुल १८५ कम्पनीको सेयर किनबेच भएकोमा १४० कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा ३९ कम्पनीको घटेको छ। त्यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर छ। जसमध्ये अभियान लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा महुली लघुवित्तको सेयर मूल्य ५.५१ प्रतिशत र प्रोग्रसिभ फाइनान्सको सेयर मूल्य ५.३५ प्रतिशतले वृद्धि भएको छ।

यता एभरेष्ट बैंकको ऋणपत्रको मूल्य ९.८३ प्रतिशतले गिरावट भएर ७८० रुपैयाँ झरेको छ। त्यस्तै एनएमबि आइब्रिड फण्ड १ को इकाइमूल्य ५.७३ प्रतिशत र ग्लोबल आईइमई ब्यालेन्स फण्डको इकाइ मूल्य ३.७८ प्रतिशतले गिरावट भएको छ।

प्रतिक्रिया दिनुहोस्