आयात प्रतिबन्धलाई निरन्तरता दिने मन्त्रालयको निर्णय



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ ।

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चितीमाथिको दबाव कायमै रहेको राय दिएपछि वाणिज्यले प्रतिबन्धलाई ६२ दिन थप गर्न सिफारिस गरेको हो ।

अब विदेशी मदिरा, ३ सय डलरभन्दा बढीको स्मार्ट फोन, १ सय ५० सीसीमाथिका मोटरसाइकल र जीप कार भ्यानको आयात २९ मंसिर बिहीबारसम्म निरन्तर हुनेछ ।

यस विषयमा सरकारले आजै रापत्रमा सूचना प्रकाशन गर्ने तयारी गरेको छ । सरकारले ढुकुटीमा विदेशी मुद्राको सञ्चिती कम भएको भन्दै गत वैशाखमा १० प्रकारका वस्तुमा असार मसान्तसम्म आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो ।

उक्त प्रतिबन्धलाई थप कडाइ गर्दै सरकारले ३१ असारमा प्रतिबन्ध लम्याएको थियो । तर, १४ भदौमा कुरकुरे, हिरा लगायतका ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गर्दै गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्धलाई यथावत राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्