धितोपत्र बोर्डले माग्यो विभिन्न पदमा २३ जना कर्मचारी



काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा २३ जना कर्मचारी माग गरेको छ । बोर्डले शुक्रवार सूचना जारी गर्दै विभिन्न १७ पदका लागि २३ जनाको दरखास्त आह्वान गरेको हो ।

बोर्डले खुला प्रतिस्पर्धाबाट उल्लेखित कर्मचारीको पदपूर्ति गर्न लागेको हो । धितोपत्र बजारको नियामक निकाय बोर्डमा जिम्मेवारीको तुलनामा कर्मचारी संख्या कम रहेको गुनासो बोर्डका अध्यक्ष रमेश कुमार हमालले गर्दै आएका थिए ।

उनले आफ्नो कार्यकालमा सबैभन्दा पहिला संस्थागत क्षमता विकासमा जोड दिने बताएका थिए । बोर्डको यो वर्षको नीति तथा कार्यक्रममा समेत चार खम्बे नीति अनुरुपका कार्यक्रमहरू तय भएका छन् । संस्थागत नियमन क्षमता अभिवृद्धि, नियमन निकायको भूमिका सशक्तीकरण, बजारको सन्तुलन तथा विस्तार बजार पारदर्शिता तथा मेरिट बेस प्रणालीको विकासलाई बोर्डले प्रमुख नीति बनाएको हो ।

प्रभावकारी कार्यसम्पादनका लागि थप कर्मचारी आवश्यक रहेको बताउँदै आएको बोर्डले निर्देशकदेखि बरिष्ठ सहायकसम्मको पदमा कर्मचारी माग गरेको हो । बोर्डले दरखास्त आह्वान गरेका पदहरू अधिकृत द्वितीय, अधिकृत तृतीय र सहायक प्रथमका श्रेणी रहेका छन् ।

योग्यता पुगेका इच्छुक आवेदकहरूले कात्तिक १७ गतेसम्म उल्लेखित पदका लागि आवेदन दिन सक्नेछन् । कात्तिक १७ गतेसम्म आवेदन दिन छुटाएकाहरूलाई दोब्बर दस्तुर तिरेर कात्तिक २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था समेत बोर्डले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्