तिहार नजिकिएसँगै चिनियाँ ओखर र स्याउकाे आयात बढ्यो



काठमाडौं । तिहार नजिकिएसँगै रसुवागढी नाकाबाट ओखर तथा स्याउ आयात बढ्न थालेको छ । चालु आर्थिक वर्षको साउनदेखि नै आयात भइरहेको चिनियाँ दाँते ओखर तथा स्याउ दसैंपछि दैनिक आयात हुन थालेको हो। दसैंभन्दा पहिले यस नाकाबाट ओखर र स्याउ न्यून रुपमा मात्र आयता हुने गरेको थियो ।

दसैं सकिएलगत्तै ४ दिनको अन्तरालमा २६ कन्टेनर ओखर र १८ कन्टेनर स्याउ रसुवागढी नाकाबाट नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि दसैँ अगाडिसम्मको तथ्याङ्कले १६ कन्टेनर दाँते ओखर, ४ कन्टेनर स्याउमात्र आयात भएको देखाएको छ । नेपालीको दोस्रो ठूलो चाडपर्व तिहार भएका कारण पछिल्लो समय स्याउका साथै ओखरको आयात बढ्न थालेको हो ।

अन्य सामानको सङ्ख्या सबै गणना गर्नुपर्ने र स्याउ तथा ओखरको शुल्कमा प्रति कन्टेनरको मात्र हिसाब हुने भएका कारण ढुवानीकर्ताको रोजाइ पहिलो फलफूल हुने गरेको पाइएको छ ।
लोड भएका नेपाली कन्टेनर डिब्बा भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौंका लागि छुटिरहेकाले अबका दिनमा ओखर तथा स्याउ खरिदको मूल्य सर्वसुलभ हुने अपेक्षा छ ।

तिहार पर्व नजिकिइसकेको र मन्दिरमा चढाउनेदेखि बिरामीलाई खुवाउनसमेत फलफूलका रूपमा स्याउ नै पहिलो रोजाइ हुने गरेका कारण व्यवसायीले स्याउ आयातलाई प्राथमिकता दिँदै आएको छ । नेपाली व्यापारीले माग गरेलगतै चिनियाँ ढुवानी कम्पनी मुसा ट्रान्सपोर्टले छिटो–छरितो रुपमा सामान रसुवागढी पुर्‍याउने गरेको व्यवसायीले बताउँदै आएका छन् ।

चीनको केरुङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको भन्दै चिनियाँ सीमा अधिकारीले गत साउन २१ गतेदेखि भदौ २९ गतेसम्म बन्द गराएको आयात ३० गतेदेखि पुनः सुरु भएको र पहिलाको तुलनामा आयात परिमाणसमेत केही मात्रामा बढेको सीमा अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्