अमेरिकी निर्वाचनमा नेपाली मूलका २ उम्मेदवार



एजेन्सी । अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ। त्यसमाथि वैधानिक तबरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ। यसरी अमेरिकाको नागरिक भइसकेपछि पनि यहाँको परिवेशलाई पच्छयाउँदै राजनीतिमा सक्रिय हुन र उमेदवार बनेर निर्वाचनमा निर्वाचित हुन पहिलो पिँढीका आप्रवासीका लागि सङ्घर्षका अनेक कथा जोडिएका हुन्छन्।

कडा परिश्रमको उपमा पाएका नेपाली अमेरिकीको हकमा भने पहिलो पिँढीका दर्जनभन्दा बढी अमेरिकाको विभिन्न एकाइको निर्वाचनमा होमिएका छन्। यस पटकको निर्वाचनको मिति आगामी नोभेम्बर ८ आउन अब केबल २ साताभन्दा कम मात्र बाँकी रहेको छ। उक्त निर्वाचनमा नेपाली मूलका २ जना प्रतिस्पर्धामा छन्।

प्रतिस्पर्धा गर्नेमा मेरिल्याण्ड राज्यको डिष्ट्रिक ८ बाट मेरिल्याण्ड जनरल एसेम्बलीको लागि विधायक पदमा पुनः निर्वाचित हुनका लागि निर्वाचनमा होमिएका डाक्टर ह्यारी भण्डारी र न्यूयोर्क राज्यको डिष्ट्रिक १०३ बाट न्यूयोर्क स्टेट एसेम्वलीको लागि सहना श्रेष्ठ छन्।

भण्डारी र श्रेष्ठले गत जुलाईमा भएको आन्तरिक पार्टी प्रतिस्पर्धा अर्थात प्राइमरी निर्वाचनमा विजयी भएर डेमोक्र्याट पार्टीको तर्फबाट आधिकारिक उमेदवार बनेका छन्। सहनाले त २३ वर्षदेखि सोही पार्टीका बहालवाला डेलिगेटलाई हराएर प्राइमेरी निर्वाचनमा जीत हासिल गरेर एउटा अलग्गै इतिहास रच्न सफल भएकी छन्।

सन् २००१ मा अध्ययनको लागि अमेरिका आएकी सहनाको राजनीतिक यात्रा रोचक छ। उनले सन् २०१९ मा मात्र अमेरिकाको नागरिकता लिएकी हुन्। सन् २०२१ मा उम्मेदवारी दिएर २०२२ को जुनमा प्राइमेरी निर्वाचनमार्फत जीत हासिल गरेसँगै उनी डेमोक्र्याट पार्टीको तर्फबाट आगामी नोभेम्बर ८ तारिखको लागि निर्वाचनमा होमिएकी छन्। भण्डारी अमेरिकाको मूलधारको राजनीतिमा निर्वाचित हुने पहिलो नेपाली अमेरिकी हुन्।

प्रतिक्रिया दिनुहोस्