अशान्तिका काला बादलहरू



  • अच्युतप्रसाद पौडेल ‘चिन्तन’

काठमाडौं । हरेक वर्ष २४ अक्टोबर संयुक्त राष्ट्रसङ्घ दिवसका रूपमा मनाउने गरिन्छ । यस संस्थाको मूल उद्देश्य नै विश्वभरि शान्ति स्थपना गर्ने हो । हिंसाले हिंसा नै निम्त्याउँछ, शान्तिले शान्ति नै । मानव इतिहास ढुङ्गे युगबाट गुज्रिएको हो । मानव सभ्यताको उदय भएको करोडौँ वर्ष भइसक्दा पनि विश्वमा एक मानवलाई अर्को मानवले द्वेषका रूपमा हेर्न छाडेको छैन ।

‘सर्वे भवन्तु सुखिनः’को सिद्धान्तमा दोस्रो विश्व युद्धपछि स्थापित राष्ट्रसङ्घकोे इतिहास पनि लामो भइसकेको छ र पनि आज संसार अचम्मको अशान्तिको जोखिममा छ । विश्वमै अशान्तिका यी काला बादलहरू देखिनु आधुनिक र सभ्य भनिएको संसारका लागि सुहाउने कुरो होइन । पछिल्लो समय रुस र युक्रेन त्यसअघिका सिरिया अफगानिस्तान द्वन्द्व कैयौँ उदाहरण छन्, जसले संयुक्त राष्ट्रसङ्घलाई व्यङ्ग्य गरिरहेका छन् । हाम्रो भूमि देव, वैदिक र बुद्ध भूमि हो, यहीँ पनि विगतको १० वर्षे जनयुद्धले हजारौँ नेपालीहरूको अकालमा ज्यान गएको छ र सशस्त्र द्धन्दमा फसेको देशमा युद्धबाट ध्वस्त संरचनाहरू पुनर्निर्माण भइसकेको अवस्था छैन ।

नेपाल विश्व मान चित्रमा सानो भू-भाग र कम जनसङ्ख्या बसोवास गर्ने स्थल हो, यो आफैँमा गरिब देश हो र संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र पनि । लाग्छ, पहिलो महायुद्धपछि स्थापित लिग अफ नेसन असफल भएजस्तै दोस्रो विश्वयुद्धपछि नामकरण भएको संयुक्त राष्ट्रसङ्घ पनि असफल पो हुने हो कि । संसारमा जैविक हतियारको होडबाजीले यसो भन्नुपरेको हो ।

अहिंसाले पनि संसारलाई परिवर्तन गर्न सकिन्छ भन्ने मूल नारा लिने महात्मा गान्धीको जन्म दिनलाई सम्झँदै संयुक्त राष्ट्रसङ्घले नै भनेर संसारले मान्दै आएको २१ सेप्टेम्बर अहिंसा दिवसले पनि खासै अहिले सार्थकता पाउन सकेको देखिँदैन । संसारले कहालीलाग्दो प्रथम र दोस्रो विश्व युद्धलाई बिर्सेको छैन, महायुद्धभन्दा खतरा सावित भई देखिएको कोभिड– १९ लाई पनि बिर्सने अवस्था रहेन र हाल सानो जाति लामखुट्टेको टोकाइबाट हुने रोग डेंगीबाट समेत दर्जनौँ मानिस हताहत हुनुले हामीले या त प्रकृति बिर्सियौँ या हाम्रो जीवनशैली, हाम्रो विधि-व्यवहारप्रति उदासीन रह्यौँ भन्ने स्पष्ट हुन्छ ।

आज जलवायु परिवर्तनको प्रभावबाट संसारले मुक्ति पाउन सकेको छैन भने हाम्रै भूमिमा भएको प्राकृतिक ताण्डव नृत्यले गत असोज भनौँ शारदीय दसैँ खल्लो मात्र गराएन, अर्बौं रुपैयाँ बराबरको धनमाल पनि क्षति गराएको छ । अन्न बालीकै कारण भोकमरीको अवस्थालाई सङ्केत गराइरहेको छ । बाढी-पहिरो र मनसुनको गतिविधिले यस वर्ष मात्र होइन, गएको २ दशकदेखि हामीलाई आक्रान्तै बनाएको छ ।

संसारका सदस्य राष्ट्रबीच यी र यस्तै प्रकृतिका भयबाट मुक्ति दिलाउन स्थापित राष्ट्रसङ्घ असफल हुनु भनेको तमाम ८ अर्ब मानिसको असफलता हो, विज्ञानलाई चुनौती हो, अभयी वातावरणमा बाँच्न पाउने मानवअधिकार कुण्ठित हुने अवस्था हो । दोस्रो महायुद्धपछि स्थापना भएको संयुक्त राष्ट्रसङ्घ स्थापनापछि पनि अशान्तिका काला बादलहरू देखिनु, हिरोसिमा र नागासाकीको बमको असर, ११ सेप्टेम्बरको अमेरिकी ट्वीन टावरको आक्रमण, अमेरिका-चीनको लामो समयदेखिको व्यापारिक द्वन्द्व कसैबाट टाढा छैन ।

नेटोतिर लाग्यो भन्दै रुसले गरेको युक्रेनमाथिको बमबारी, त्यसको विरुद्धमा अमेरिकी बल र सामथ्र्यको प्रयोगले आज संसारभरिका मानिसलाई मनोवैज्ञानिक असर यस कारण पनि परेको छ कि यिनै कारणले विश्वभर महँगी छ र गरिब उपभोक्ताहरू बजार युद्धबाट आक्रान्त छन्, एकछत्र डलरको भाउले सबैलाई चिमोटेको छ । भर्खरै युक्रेनको पक्षमा राष्ट्रसङ्घ उत्रिएको छ, भोटिङ गरेर नेपालले समर्थनमा मतदान गर्दा छिमेकी देशहरूको आँखा हामीप्रति फरक हुने देखिएको छ । पेट्रोलियम पदार्थ, हवाई भाडालगायतले पर्यटन क्षेत्र मात्र होइन, कम आय भएका, बेरोजगारीको पीडा बोकेका सबैलाई आतङ्कित बनाएको छ सो युद्धका कारण । आतङ्क, हत्या मात्र होइन, हिँसा मार–काट मात्र होइन, मन, वचन र कर्मले अरूको पीडा नहुनु शान्ति हो भनेका छन् पूर्वीय धर्म, संस्कृति र दर्शनले । पूर्वीय दर्शनको स्रोत भूमि हाम्रा पुर्खाले पृथ्वी शान्तिः, आपः शान्तिः ओषधयः शान्तिः, वनस्पतयः शान्तिः, अन्तरिक्षः शान्तिः भने अर्थात् यो ब्रह्माण्ड पूरै शान्ति होस् भने ।

तर, यो सन्देश दिने हामी नेपालीले के प्रयास गर्‍यौं शान्तिका लागि ? भन्ने प्रश्न छ । जनयुद्धपछिको शान्ति सम्झौतापछि पनि तराई क्षेत्रको हिंसालाई के भन्ने ? जनक, जानकी, व्यास क्षेत्र नेपाललाई के भन्ने ? संसारकै शिर भाग बोकेको सगरमाथाको देशलाई के भन्ने ? हो, यहाँ इतिहासमै बाह्य आक्रमण छैन । हाम्रो भूमि हालको भन्दा तेब्बर थियो पहिले । वीरताको भूमि कसरी भन्ने जबकि भाषा, संस्कृतिलगायत तमाम अर्थ बजारको औपनिवेशिकता छ यहाँ । राजनीतिक दलहरूले विदेशी छाता ओढेका छन्, अन्यत्र पानी पर्दा यहाँ छाता ओढ्नुपर्छ नदेखिनेगरी । र, धेरै राजनीतिक परिवर्तनमा देखिनेगरी नै विदेशी भूमिबाट दलहरू सञ्चालित छन् ।

दलहरूले क्रान्ति गरे यहाँ, परिवर्तन पनि गरे तर राजनीतिक परिवर्तनको नारा सबै अधुरो छ, देश सुखी र समृद्ध होइन, विदेशी ऋणको चङ्गुलमा र व्यापार घाटामा फसेको छ । एक नेपाली आमाको गर्भमै ७५ हजार रुपैयाँको ऋणमा हुन्छ र जन्मदेखि मृत्युसम्म तिरेको करको सदुपयोग भएको छैन । तमाम दैनन्दिन जीवनका सामान आयात गर्नुपर्छ । नरम र सजिला नेपाली विदेशिएका छन् र तिनको विप्रेषणले राजनीतिक दलका नेताहरू पालिएका, पोसिएका छन् ।

लाखौँ होइन, करोडौँ रुपैयाँ नेताका उपचारमा खर्च गरिन्छ, महँगा विदेशी गाडी, हेलिकोप्टर, शौचालय, कार्पेट, आलिसान महलको प्रयोग हुन्छ र परिवारवादको संस्कृति हुर्केको छ । चुनावलाई समेत नाटकीय शैली प्रयोग गर्दै आपूm र आफ्नै जोडी नीति निर्माणको तहमा पुग्छन्, बार्गेनिङ हुन्छ, सत्ता बाँडफाँट हुन्छ, अप्राकृतिक गठबन्धन हुन्छ । सत्ता पक्ष मात्र होइन, स्वार्थका लागि विपक्षी गठबन्धनसमेत हुन्छ, चुनावको भोट गन्दै गर्दा बत्ती निभ्छ, मतपत्रलाई नै चपाइन्छ । बिजुली महँगो दरमा स्वदेशमा बिक्री हुन्छ, सस्तोमा निर्यात हुन्छ । अन्तर्राष्ट्रिय रूपमा इन्धनको भाउ घटेर आउँदा यहाँ घटाइँदैन, स्वचालित भनिन्छ, बढ्दा सुइँको पाउनासाथ बढ्ने मानौँ नेपालीका लागि अभिभावक नै छैन र त शोक, रोग, भोगले ग्रस्त हुँदा यहाँ कसैले विचरा भन्दैन । न शिक्षा गुणस्तरीय छ, न त स्वास्थ्य उपचार निःशुल्क हुन्छ । संविधानमा भएभरका शब्दहरू राखिन्छ तर संविधान प्रयोगमा आउँदैन ।

दुई तिहाइको दम्भ रहन्छ, प्रतिनिधिसभा नै वर्षमा २ पल्टसम्म कोमामा जान्छ, अदालती परमादेशबाट सरकार निर्माण गरी संसारलाई लोकतन्त्रको उपहास देखाइन्छ । सुशासनको नारा खोक्रो हुन्छ र विदेशीलाई रिझाउन अनेक प्रयास मात्र गरिँदैन, फास्ट ट्र्याकबाट नागरिकता विधेयकसमेत ल्याइन्छ । ढुङ्गा, माटो बेच्नसमेत ऐन ल्याइन्छ । नचाहँदा नचाहँदै विदेशी रिझाउन एमसीसी ल्याइन्छ र छिमेकी देश क्रुद्ध बन्छ । असंलग्न परराष्ट्र नीति भनिन्छ तर व्यवहारमा त्यस्तो देखिँदैन, विदेशीहरूको खेल मैदान बन्छ देश । श्रीलंकाको अवस्था बिर्सेका छन् यहाँ नेतृत्व दिनेहरूले ।

हाल १९३ वटा राष्ट्रहरू संयुक्त राष्ट्रसङ्घका सदस्य छन्, १४० वटा देशमा त शान्ति दिवस नै मनाइन्छ । सन् २०२२ को नारा ‘जातीय वादको अन्त्य’ बनेको छ । हिंसामुक्त भन्ने हामीले दसैँमा यत्रा विधि पशुपक्षीको बध गरेका छौँ । राष्ट्रसङ्घ स्थापना भएकै देश अमेरिकाको हालैको टेक्सस गोली काण्डमा १९ जनाको ज्यान गयो, जसमा विद्यार्थीहरू नै परे १७ जना ।
उत्तर कोरिया आणविक हतियारमा अग्रसर छ, सिरिया र अफगानिस्तानमा हिंसा रोकिएको छैन, रुस-युक्रेनको गोलाबारी ७ महिनादेखि जारी छ, हजारौँ हताहत, लाखौँ विस्थापित भएका छन् । त्यहाँको भूमि रुसले आफ्नो अधीनस्थ बनाएको छ । संसारमा शान्ति र विकासका लागि अग्रसर भएको जापानमा पूर्वप्रधानमन्त्रीको गोली हानी हत्या भयो । र त भन्नुपर्छ– अहिंसा परमो धर्म खोक्रो नारा सावित भएको छ । बलियाको रजाइँ निर्धाको आँसु भएको छ संसार ।

मूलतः तनमा कान्ति र मनमा शान्ति सबै युगको अपरिहार्यता हो भने अहिले हामीले भनौँ संसारले चाहेको द्रुत विकासको पहिलो आवश्यकता अहिंसा र शान्ति नै हो । सशस्त्र क्रान्तिबाट युग परिवर्तन खोज्नु सबैका लागि भूल हुनेछ । र त हाम्रा वैदिक ऋषि, महर्षिहरूले अनेकानेक खोज र अनुसन्धान गरेर विश्व शान्तिको पहल गरे । पूर्वी संस्कारमै हुर्केका बुद्ध यहीँ अवतरित भए । ‘धर्मको स्थापनाका लागि युगयुगमा म पृथ्वीमा अवतरित हुनेछु’ भनी स्वयं विष्णु अवतार श्रीकृष्णले गीतामा भनेका छन् । विद्धान् विल्सनले भनेका छन्, ‘प्रजातन्त्रका लागि पनि यो संसारलाई सुरक्षित राख्नुपर्छ ।’

विद्धान् रस्किनले भने, ‘कुनै व्यक्तिको प्रथम परीक्षा भनेको उसको नम्रता नै हो । मान्छेलाई सुधार्ने मुख्य औषधि भनेको प्रेम र स्नेह नै हो ।’ अल्बर्ट आइन्टाइनले भनेका थिए, ‘ईश्वर भ्रष्ट हुन सक्ला तर इष्र्यालु कहिल्यै हुँदैन ।’ यस्तै, विद्धान् वाइरनको भनाइ छ, ‘जसले आफ्नो देशलाई माया गर्न सक्दैन, उसले कसैलाई पनि माया गर्दैन ।’ प्रसिद्ध विद्धान् गेटेको भनाइ छ, ‘राजा या रङ्क होस्, जसले घरमा शान्ति पाउँछ, उही सुखी हो ।’ बाइबलको पनि भनाइ छ, ‘तिम्रो शरीर नै पवित्र आत्माको मन्दिर हो ।’ हाम्रा पुर्खाले वसुधैव कुटुम्बकम् अर्थात् सम्पूर्ण वसुधा भनौँ पृथ्वी नै कुटुम्ब हो भने । त्यति मात्र नभएर ब्रह्माण्डैव कुटुम्बकम् भने । आज त्यसैलाई ‘ग्लोबल भिलेज’ भन्छौँ हामी अर्थात् विश्व एक गाउँ ।

आज वायु प्रदूषण, ध्वनि प्रदूषण नगरी संसारलाई शान्त, सुखी बनाउन पर्यायवरणको चासो हुनुपर्ने हो । भूमि, आकाश, पाताल र समस्त वायुमण्डल शुद्ध नभई यहाँ रहने प्राणीहरू शुद्ध हुँदैनन् । सृष्टि, स्थिति र प्रलय निरन्तर चलिरहने प्रक्रिया हुन् । ती प्रक्रियाका पात्रहरू मात्र हौँ हामी । हिजो ईश्वर थियो, हामी थिएनौँ । आज ईश्वर छ, हामी छौँ । भोलि हामी रहँदैनौँ तर ईश्वर सदैव रहन्छ । मानव मस्तिष्कको स्रोत भन्नु ईश्वर हो । ईश्वर प्रदत्त मानव मस्तिष्कको उपज भन्नु विज्ञान हो । सदुपयोग गर्दा विज्ञान वेदमणि हुन सक्छ, पारसमणि पनि ।

जैन, शिख, हिन्दु, क्रिश्चियन, मुस्लिम, बौद्ध जे सम्प्रदाय भने पनि पहिले हामी मनुका सन्तति मानव हौँ, मनुष्य हौंँ । मानव धर्मको पहिचान भएन भने सम्प्रदाय विशेषमा रुमल्लिएर सभ्यताको विकास हुँदैन । फलाममय जगत्लाई पारसमणिको रूपमा प्रयोग गर्न सक्नु मानव हितअनुकूल छ । संसार नरमाइलो छैन, बुझाइ फरक हो । चन्द्र-सूर्य नभएको स्थान कहाँ हुन्छ र ? धर्मको विशालता शब्दले सीमाङ्कन गर्न सकिँदैन । हाम्रा धर्म संहिताहरूले मानव संस्कारका बारे लेखेका छन् तर हामी मृगमरिचिकामा छौँ । आफूसँग भएको वस्तु हेला गर्छौं, परतिरको घाम घमाइलो हुँदै छ हामीलाई । र त दिवसलाई मात्र दिवसको रूपमा हेर्छौं, त्यसको सन्देशलाई भुल्छौँ, हिँड्दै छ, पाइला मेटिँदै छ, हाम्रा सपना सबै अधुरा छन् ।

प्रतिक्रिया दिनुहोस्