निर्वाचनमा ४ घेरे सुरक्षा रणनीति



काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख हाराहारी सुरक्षाकर्मी परिचालन भएका छन् । सबै सुरक्षा निकायबाट २ लाख ९८ हजार ५०० जनशक्ति निर्वाचन प्रयोजनका लागि खटिएका हुन् ।

नेपाल प्रहरीबाट १ लाख ८६ हजार ६९३ जनशक्ति खटिएका छन्। यो सङ्ख्या म्यादीसहितको हो । निर्वाचन प्रयोजननका लागि १ लाख १५ हजार म्यादी परिचालन गरिएको छ। निर्वाचन सुरक्षामा ४ घेराको प्रबन्ध गरिएको छ । सरकारले ४ घेरे सुरक्षा नीति तय गर्दै पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा प्रहरी र म्यादी, तेस्रोमा सशस्त्र र चौथोमा सेनालाई खटाएको छ।

निर्वाचन क्षेत्रलाई अति सम्वेदनशील, सम्वेदनशील र सामान्य गरी ३ वर्गमा विभाजन गरिएको छ। देशभर १० हजार ८९१ वटा मतदानस्थल र २२ हजार २२६ वटा मतदान केन्द्र छन् । कैदी/बन्दीका लागि ७२ वटा अस्थायी मतदानस्थल तय गरिएको छ।

गृह मन्त्रालयले ३ हजार ८० वटा मतदानस्थललाई अतिसम्वेदनशील, ४ हजार ४२० वटालाई सम्वेदनशील र ३ हजार ३९२ वटालाई सामान्य सूचीमा राखेको छ। सुरक्षा सम्वेदनशीलता क्षेत्र पहिचान भए पनि गृह मन्त्रालयले अतिसम्वेदनशील र सम्वेशनशील मतदानस्थलको सूची भने सार्वजनिक गरेको छैन ।

तराईमा प्रहरी नायव उपरीक्षक (डीएसपी)को कमान्डमा, पहाडी तथा हिमाली क्षेत्रमा प्रहरी निरीक्षकको कमान्डमा नेपाल प्रहरीको टोली खटिएका प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले बताए। सुरक्षा सम्वेदनशीलताका आधारमा पहाडी क्षेत्रमा पनि डीएसपीको टोली खटिएको बताउँदै उनले भने, ‘मतदानस्थल, मतदान केन्द्र र आमनागरिकको सुरक्षाको फ्रन्ट लाइनमा नेपाल प्रहरी खटिएको छ।’

निर्वाचन सुरक्षा र सुरक्षा सम्वेदनशीलतालाई ख्याल गर्दै जिल्ला, प्रदेश र केन्द्रमा सादा पोसाकमा पनि विशेष टोली परिचालन भएको उनले जानकारी दिए। नेपाल प्रहरीले गत महिनादेखि नै सादा पोसाकमा विशेष टोली परिचालन गर्दै निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका व्यक्ति, समूह र अन्य शङ्कास्पद क्षेत्रको निगरानी बढाइरहेका राईले बताए।

‘आवश्यकताअनुसार हरेक दिन हाम्रो टोली खटिएको छ, निर्वाचन सुरक्षाका लागि शुक्रबार मात्र ११ हजार ९६१ जना पठाइएको छ । यो महान् कार्य र महान् पर्व सफल बनाउन सबै सुरक्षा निकायसँगको समन्वयमा काम गरिरहेका छौँ’, प्रहरी प्रवक्तासमेत रहेका उनले भने।

नेपाली सेनाबाट ७५ हजार सैनिक परिचालन हुनेछन् । सुरक्षा सम्वेदनशीलतालाई ख्याल गर्दै केही टोली फिल्डमा खटिएका र ठूलो जनशक्ति भने विभिन्न चरणमा खटिने सैनिक मुख्यालयले जनाएको छ। मत पत्र छपाइ सुरक्षाका लागि १४३ जना सैनिक खटिएकामा अब निर्वाचन सुरक्षा रणनीतिअनुसार सेनाले आफ्नो फौज खटाउने तयारी गरेको हो।

निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छापेको थियो। मतपत्र ढुवानीको जिम्मा सेनालाई दिएको सरकारले प्रमुख निर्वाचन अधिकृतको कार्यालयबाट मतदान केन्द्रसम्म मत पत्र ढुवानीका लागि पनि सेनालाई तोकेको छ। निर्वाचन सुरक्षा र सम्वेदनशीलतालाई ख्याल गर्दै सेनाले काठमाडौं, इटहरी, बर्दिबास, पोखरा, सुर्खेतलगायतका क्षेत्रमा निर्वाचन अगावै एमआई–१७ र ईसीयू हेलिकोप्टर ‘स्ट्यान्ड बाई’ राख्ने सैनिक मुख्यालयले जनाएको छ ।

निर्वाचन बिथोल्न सक्ने सम्भावित समूह र सुरक्षा सम्वेदनशीलतालाई विश्लेषण गर्दै सेनाका ८३२ वटा बम डिस्पोजल टोली खटिएका र सुरक्षा चुनौती पहिचान भएका क्षेत्रमा आधा घन्टाभित्रैमा सैनिक टोली खटिने बताइएको छ । १४३ वटा टोलीलाई स्ट्यान्ड बाई रहने नेपाली सेना स्रोतले जनाएको छ।

आगामी निर्वाचनका लागि सशस्त्र प्रहरी बलबाट ३५ हजार जनशक्ति परिचालन भएका छन् । प्रत्येक निर्वाचन क्षेत्रको ‘निर्वाचन क्षेत्र सुरक्षा बेस’मा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)को कमान्डमा जनशक्ति परिचालन भएका सशस्त्र मुख्यालयले जनाएको छ।

निर्वाचन लक्षित सुरक्षा योजना गत तिहार अगाडि तयार भएको र अधिकांश जनशक्ति तिहार अगावै परिचालन भएका छन्। ठूलो फौज तिहार अगावै परिचालन भएको बताउँदै सशस्त्र बलका डीएसपी एवं सहायक प्रवक्ता शैलेन्द्र थापाले भने, ‘को, कहाँ, कसरी परिचालन हुने तयारीअनुसार सबै निर्वाचन क्षेत्रमा सशस्त्र बल खटिएको छ।’

सीमा सुरक्षार्थ ‘बोर्डर आउटपोस्ट’ (बीओपी)मा खटिएको फौज सीमा सुरक्षा र ‘निर्वाचन क्षेत्र सुरक्षा बेस’लाई सहयोग गर्ने गरी परिचालन भएको उनले जानकारी दिए। सशस्त्र बलको कुल सङ्ख्या ३७ हजार हाराहारी छ । देशभरका २२८ वटा बीओपीमा सशस्त्र खटिएको छ।

मुख्यालय र मातहतका निकायको दैनिक कार्यसम्पादन, संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा खटिएकाबाहेक सशस्त्रका सबै जनशक्ति निर्वाचन प्रयोजनका लागि परिचालन भएका थापाले बताए ।

राष्ट्रिय अनुसन्धान विभागले सबै जिल्लामा आफ्नो जनशक्ति परिचालन गरेको विभाग स्रोतले जनाएको छ। सबै सुरक्षा निकायसँगको समन्वयमा सुरक्षा सम्वेदनशील मानिएका क्षेत्रलाई प्राथमिकतामा राख्दै जनशक्ति परिचालन भएका विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्