जुवाको पैसा लुकाएको भन्दै प्रहरीमाथि नै छानबिन 



विराटनगर : प्रहरीले तास र जुवाको खालमा छापा मार्ने क्रममा फेला परेको पैसा लुकाएको आरोप विवादित बनेको छ । उक्त घटनालाई लिएर मोरङ प्रहरीमाथि छानबिन हुने भएको छ । 

केही दिन अघिदेखि प्रहरीले तास तथा जुवा खालमा छापा मार्दै आएको थियो । खालमा धेरै पैसा भए पनि प्रहरीले थोरै मात्र देखाउने गरको कुरा बाहिर आएको थियो । यसै विषयलाइृ लिएर प्रदेश १ प्रहरी प्रमुख कार्यालय विराटनगरले यस विषयमा छानबिन र अनुसन्धान थालेको छ । 

 

समिति नै बनाएर अनुसन्धान थालिने 

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले समिति नै बनाएर यस विषलाई अध्ययन गरिने बताए । उनले आन्तरिक रुपमा छानबिन समिति बनाएर कारवाहीको प्रक्रिया अघि बढाइएको बताए । उनले छानबिन समितिको नेतृत्वमा कोको छन् भी खुलाउन भने चाहेनन् । ‘प्रहरीमाथि गम्भीर आरोप लागेको छ,’ रिजालले भने, ‘यसले सिंगो प्रहरी संगठनको बदनाम भयो । प्रहरीको काम कारवाहीप्रति अविश्वास बढ्यो ।’

जुवा खालमा भेटिएको पैसा प्रहरीले लुकाएको प्रमाणित भए प्रहरीमाथि कारवाही अघि बढाइने उनले जानकारी दिए । ‘मिहिन ढंगले छानबिन थालेका छौं,’ उनले भने, ‘दोषी प्रहरीले छुट्कारा पाउने छैनन् ।’ उनले प्रहरीले खालमा भेटेको भन्दा साह्रै थोरै पैसा मात्रै सार्वजनिक गरेको र अरु पैसा लुकाएको गुनासो धेरै तिरबाट आएको जानकारी दिए । भने, ‘यो कुरा सत्य हो हैन छानबिनपछि मात्रै भन्न सकिन्छ ।’

 

डीआईजी रिजालले गठन गरेको छानबिन समितिले जुवा खालमा छापा हान्न जाने प्रहरीका इन्चार्ज, घुमुवा र अन्य प्रहरी तथा जुवा तास खेल्दै गर्दा पक्राउ परेका लगायतसँग सोधपुछ गर्नेछ । ‘यस घटनाको छानबिनका लागि अरु विभिन्न उपाय पनि अवलम्बन गर्ने छौं,’ उनले भने । 

पैसा लुकाएको साबित भयो भने भोलि प्रहरीले जुवा खालमा छापा हान्न नहुने तथा कानुनले वर्जित गरेको जुवा तास नियन्त्रणमा समस्या आउन सक्ने उनको भनाइ छ । तास खेल्दै गरेको अवस्थामा मोरङको बूढीगंगा गाउँपालिका १ बाट पक्राउ परेका विराटनगरका पाँच नामुद उद्योगी व्यवसायी जिल्ला प्रशासन कार्यालय मोरङले मागेको जनही १२/१२ हजार रुपैयाँ धरौटी बुझाएर बुधबार छुटेका छन् ।

 

छुटेलगत्तै जुवा खालको पैसा प्रहरीले लुकाएको उनीहरुले आरोप लगाएका थिए । यो विषय पेचिलो बन्दै गएपछि जुवा, तास नियन्त्रणमा सक्रियता देखाएको प्रहरीको भूमिका थप शंकास्पद बनेको छ । घटना, अन्य अपराध अनुसन्धान र नियन्त्रणका नाममा विवादस्पद बन्दै गएको प्रहरीलाई मोरङमा जुवा काण्डले थप विवादित बनाएको छ । । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठ नेतृत्व टोलीले गत आइतबार बिहान मोरङको बूढीगंगा गाउँपालिका १ स्थित उद्योगी चम्पालाल राठीको उद्योगको गोदाममा छापा मारेकाे थियाे । तास खेलिरहेको भेटेपछि उद्योगी व्यवसायी ६९ बर्से चम्पालाल राठी, ५० बर्से जीवन रिजाल, ५१ बर्से मुकेशकुमार अग्रवाल, विमल अग्रवाल र ३८ बर्से हंशराज जैनलाई पक्राउ गरेको थियो ।

 

सुरक्षा गार्ड राखेर तास खेलिरहेको भेटेपछि पाँच जनालाई पक्राउ गरिए पनि तास खेलिरहेका अन्य व्यापारी भने प्रहरी आएको चाल पाएर भागेका थिए । 

 

प्रहरीले घटनास्थलबाट १७ थान तास र एक लाख ९० हजार एक सय ४० रुपैयाँ रकमसमेत बरामद गरिएको सार्वजनिक गरेको थियो । पक्राउ परेपछि धरौटीमा छुटेका जुवाडे व्यापारीले खालबाट कम्तीमा १० लाख रुपैयाँ प्रहरीले लिएर गए पनि थोरै मात्रामा रकम देखाएको आरोप लगाउँदै आएका छन् ।

 

विराटनगरका नामुद उद्योगी व्यवसायी तास खेल्दै गर्दा पक्राउ परेपछि उनीहरुलाई छुटाउन विभिन्न ठाउँबाट प्रहरीमाथि दबाब समेत दिइएको थियो । दबाबका बाबजुत प्रहरीले उनीहरु विरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ को जुवा ऐनअन्तर्गत मद्दा भने चलाएको थियो । 

दसैं, तिहार र छठमा मात्रै प्रहरीले मोरङमा एक दर्जन स्थानबाट ६० जनाभन्दा बढी जुवाडेलाई पक्राउ गरेको छ । प्राय सबैजसो जुवा खालबाट बरामद गरेको भन्दा निकै कम रकम मात्र प्रहरीले सार्वजनिक गरेको र अरु रकम छापा हान्न गएका प्रहरीले गोजीमा हालेको आरोप लागेको छ । ‘जति थोरै रकम देखाउन सक्यो त्यति कम सजाय भोग्नुपर्छ भनेर पक्राउ गरिएका बेला प्रहरीले हामीलाई भने ।

'प्रहरीले नयाँ उपाय रचेर फसायाे'

प्रहरीले पैसा लुकाउन रचेको प्रपञ्च हामीले पत्तो पाउन सकेनौं,’ जुवा खेल्दै गर्दा पक्राउ परेका एक व्यक्तिले भने, ‘जुवामा पक्राउ परेका कारण हामी जतिसक्दो चाँडो प्रहरीको पञ्जाबाट उम्किन चाहन्थ्यौं । पछि बुझ्दै जाँदा जुवा खालमा भेटिएको पैसा लुकाउनलाई प्रहरीले रचेको नयाँ उपाय रहेछ ।’ 

प्रहरीले मुचुल्का उठाउँदा फेला परेको भन्दा कम पैसामा आफूहरुलाई हस्ताक्षर गर्न लगाएको र कम पैसा देखाउँदा चाँडो छुट्न पाइन्छ भन्ने आशाले आफूहरुले पनि प्रहरीलाई सहयोग पुर्याएको उनीहरुकाे भनाइ छ । प्रहरीले जुवा खालबाट बरामद गरेको पैसा जफत हुन्छ ।

 

‘छापा मार्ने क्रममा खालबाट पैसा बरामद गर्नेभन्दा पनि गोजीमा हाल्न प्रहरीबीच घम्साघम्सी नै चल्दो रहेछ,’ जुवा खेल्दै गरेका एक जनाले भने, ‘बरामद गरे जति रकम नदेखाइकन आफ्नो खल्ती भर्ने काम प्रहरीले गर्नु अचम्मको विषय हो ।’ उनले जुवामा बरामद भएको पैसा पछि फिर्ता नमाग्ने भएकाले पनि प्रहरीलाई खालबाट पैसा लुकाउन र पचाउन सहज हुने गरेको आरोप लगाए । ती जुवाडेले खालबाट बरामद गरेको पैसा प्रहरीका हाकिमदेखि जवान सम्मले सबैलाई देखाएरै मिलेर गोजीमा हालेको सुनाए । 

 

हामीमाथि झूटो आरोप । प्रहरी 

प्रहरीले भने आफू फन्दामा परेपछि प्रहरीमाथि झूटो आरोप लगाएर जुवाडेले आफूहरु चोखिने प्रयत्न गर्ने गरेको बताउँदै आएको छ । यसबारे थप बुझ्न पटक पटक गरिएको फोन मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले उठाएनन् । बुधबार भएको संवादमा भने उनले नेपालटपसँग आधारहीन र तथ्यहीन आरोप लगाएको र प्रहरीले खालबाट बरामद गरेको पैसा नलुकाएको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्