प्रतिनिधिसभामा जम्मा ९ महिला !



 

काठमाडौं । २०६३ र २०७२ सालका संविधानको मूल मर्म हरेक क्षेत्रमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिशिचत गर्नु हो । तर, भर्खरै भएको प्रतिनिधिसभाको निर्वाचनमा त्यस्तो देखिएको छैन। १६५ वटा निर्वाचन क्षेत्रमध्ये १०४ वटा निर्वाचन क्षेत्रमा महिलाको उम्मेदवारी परेकामा हालसम्म ९ वटा निर्वाचन क्षेत्रमा मात्र महिलाले जित्न सफल भएका छन् ।

जम्मा २१० जना महिला उम्मेदवार रहेकामा ६१ वटा निर्वाचन क्षेत्रमा महिलाको उम्मेदवारी नै परेको थिएन । जहाँ परेको थियो, त्यहाँ पनि न्यून मात्रामा मात्र महिला उम्मेदवारले निर्वाचन जित्न सफल भएका छन् । नेकपा एमालेले ११ जना महिला उम्मेदवार उठाएकामा हामीले यो समाचार तयार पार्दासम्ममा ३ जना मात्र जित्न सफल भएका छन्, जसमा धनुषा– ३ बाट जुलीकुमारी महतो (महासेठ)ले ९ हजार ६६९ मतले जित्न सफल बनिन् । जुलीले सत्ता गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अनिलकुमार झालाई हराएकी हुन् ।

बारा– ३ बाट ज्वालाकुमारी साहले पनि जसपाका रामबाबुकुमार यादवलाई हराउँदै निर्वाचित भइन् । साहको २० हजार २५१ मत आउँदा यादवको १७ हजार २६९ मत मात्र आएको थियो । साह २ हजार ९८२ मतान्तरका साथ संसद् प्रवेश गरेकी छन् । एमालेबाटै विद्या भट्टराई कास्की– २ बाट निर्वाचित भइन् ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका माधवप्रसाद कँडेलाई ४ हजार ५०३ मतका साथ पराजय गरिन् । भट्टराईको १६ हजार ९९८ मत आउँदा कँडेलको १२ हजार ४९५ मत मात्र आएको थियो । यसरी नै सुनसरी– ३ बाट एमालेकी भगवती चौधरीले कांग्रेसका विजय गच्छदारलाई पराजित गर्दै विजयी भएकी छन् । उनले १६ हजार ५ मत ल्याउँदा गच्छदारले ११ हजार ६९५ मत मात्र ल्याए ।

नेपाली कांग्रेसले ५ जना महिला उम्मेदवार उठाएकामा १ जनाले मात्र जित निकाल्न सफल भइन् । त्यसरी चुनाव जित्नेमा तेह्रथुमकी सीता गुरुङ हुन् । उनले एमालेका डा. विजय सुब्बालाई १ हजार ७९ मतले पराजित गरिन् । गुरुङले १९ हजार ७०२ ल्याउँदा सुब्बाले १८ हजार ६२३ मत मात्र पाएका थिए ।

नेकपा (माओवादी केन्द्र)ले ११ जना महिला उम्मेदवार उठाउँदा १ जना महिलाले मात्र जित्न सफल भइन् । दाङ– २ बाट माओवादीकी उम्मेदवार रेखा शर्माले एमालेका महासचिव शङ्कर पोखरलेलाई हराएर जित हात पारेकी थिइन् । शर्माले १९३ मतले मात्र पोखलेलाई हराएकी थिइन् । शर्माको २६ हजार ८८० मत आउँदा २६ हजार ६८७ मत ल्याएका थिए ।

नेकपा (एकीकृत समाजवादी)ले रामकुमारी झाँक्रीलाई मात्र महिला उम्मेदवार उठाएको थियो तर उनले पनि निर्वाचन जित्न सकिनन् । केही समय अगाडि मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीका २ जना महिला उम्मेदवारले चुनाव जित्न सफल भए । निर्वाचन अगाडिसम्म रास्वपाले १ सिट पनी नजित्ने आँकलन गरिएकामा देशभर ७ सिटमा जित्दा २ जना महिलाले जित्न सफल भए ।

काठमाडौं– २ बाट सोविता गौतमले एमालेका मणिराम फुयाँललाई ३ हजार ६७५ मतले जित्न सफल भइन्। गौतमले १५ हजार २२९ मत ल्याउँदा फुयाँलले ११ हजार ५५५ मत मात्र ल्याएका थिए।ललितपुर– ३ बाट रास्वपाकी उम्मेदवार डा. तोसिमा कार्कीले एमालेका अमृत खड्कालाई ३ हजार ६७५ मतले जितेकी छन्। कार्कीले ३१ हजार १३६ मत ल्याउँदा खड्काले १२ हजार ९६३ मत ल्याएका थिए।

केही समय अगाडि मात्र दर्ता भएको नागरिक उन्मुक्ति पार्टीबाट पनि १ जना महिला उम्मेदवारले जित्न सफल भएकी छन् । त्यसरी जित्नेमा कैलाली– १ बाट रञ्जिता श्रेष्ठ छन् । श्रेष्ठले कांग्रेसका रामजनम चौधरीलाई १२ हजार ३९६ मतले पराजित गरेकी हुन् । श्रेष्ठले ३० हजार ४०४ मत ल्याउँदा चौधरीले १८ हजार ८ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्