केही दिनमै मेलम्चीको पानी काठमाडौंका धारामा आइपुग्ने



काठमाडौं । मेलम्ची खानेपानी परियोजनाले काठमाडौंमा पानी पठाउने तयारी थालेको छ । मेलम्चीको पानी काठमाडौंमा वितरणको लागि सोमबारदेखि सुरुङमा पानी भर्न थालिएको हो । खानेपानी विकास समितिले २६ किलोमिटर सुरुङमा सोमबारदेखि पानी भर्न थालिएको सामाजिक सञ्जाल फेसबुकमार्फत बताएको छ ।

‘अबको केही दिनमा मेलम्चीको पानी काठमाडौंको थोक वितरण प्रणालीमा पठाइने छ र लगत्तै वितरणका लागि उपलब्ध हुने छ’ आयोजनाले सामाजिक सञ्जालमार्फत भनेको छ । सिन्धुपाल्चोकको हेडवर्क्स सुरुङमा पानी भर्न थालिएको र केही दिनमा काठमाडौंमा पानी वितरण हुने मेलम्ची खानेपानी विकास समितिले बताएको छ । वर्षायामको समयमा बाढीको जोखिम हुने भएकाले गत असारदेखि सुरुङको ढोका बन्द गरिएको थियो ।

आयोजनाले गत महिनादेखि नै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढेको बताएको थियो । हेडवर्कसमा पुरिएका संरचना र आयोजनासम्म पुग्ने सडक बनाएर सुरूङमा पानी भर्न थालिएको आयोजनाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्