हामीलाई हराउन सुरुदेखि नै केही तत्वहरु लागेका थिए : नेता खनाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरुलाई हराउन सुरुदेखि नै केही तत्वहरु लागेको बताएका छन् । इलाम क्षेत्र नम्बर १ मा पराजित भएका खनालले आज विज्ञप्ति जारी गर्दै भनेका छन् निर्वाचनको प्रक्रियामा म नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को तर्फबाट साझा उमेदवारको रुपमा रहेको थिएँ । तर हाम्रो गठबन्धनको टिमलाई हराउन र इलामेली जनताको भावनामाथि कुठाराघात गर्न केही तत्वहरू सुरु देखिनै लागि रहेका थिए,’ ।

खनालले इलाम १ को प्रदेशका दुवै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएको पनि बताएका छन् । उनले विज्ञप्तिमार्फत मतदाताहरूलाई धन्यबाद पनि दिएका छन् । उनले प्रतिनिधिसभाका दुवै सिटमा भने निर्वाचन आयोगले मत गणना गरेर नतिजा घोषणा गरे पनि त्यसमा गम्भीर विवाद रहेको बताएका छन् ।

मतदानको प्रक्रिया शुरु देखि नै स्वास्थ नरहेको, विभिन्न प्रकारका अनियमितता भएको, एउटा मतपेटिकामा मत हाल्नु पर्ने मा अर्कै मतपेटिकामा मत हालेको, कैयौं मतपेटिकामा खसेको मत गणना गर्दा सयौं मतपत्र नभेटिएको, सयौं मतपत्रहरु गायब भएको, कतिपय मत पेटिकामा खसेको मतभन्दा सयौं मत बढी भेटिएको जस्ता तथ्यहरूले मतदानको प्रक्रियामा योजनाबद्ध रुपमा अनियमितता भएको कुरा छर्लङ्ग पारेको खनालले बताए ।

नेता खनालले इलाम क्षेत्र नम्बर १ मा निर्वाचित भएका नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई बधाई समेत दिएका छन् । खनाल यो क्षेत्रमा बस्नेतसँग पराजित भएका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्