चर्चित नेता हराउँदै संसद्‌मा रोमाञ्चक ‘डेब्यु’



काठमाडौं । २०७४ सालको आमनिर्वाचनभन्दा यस पटकको निर्वाचन विभिन्न कारणले फरक देखियो। राजनीतिमा केही नयाँ दल र युवाहरूको उम्मेदवारी अहिलेको निर्र्वाचनमा देखियो। खासै नाम नसुनिएका र नदेखिएका उम्मेदवारहरू चुनावी मैदानमा थिए।

चुनावी नतिजाको प्रक्षेपण गर्दा पनि ती उम्मेदवारको नाम खासै समावेश भएन। तर, मत परिणामले भने अवस्था फरक देखायो। ‘हेभी वेट’ नेताको रूपमा आफ्नो परिचय बनाएका नेताहरू सामान्य परिचय भएका र राजनीतिमा नयाँ अनुहार मानिएका व्यक्तिसँगै पराजित हुँदा यस पटक राजनीतिको कोर्स नै फेरिएको छ। अधिकांश पूर्वसांसद, मन्त्री र १ जना पूर्वप्रधानमन्त्रीसमेत अहिलेको निर्वाचनमा पराजित हुँदा नपत्याइएका अनुहार भने राजनीतिमा उदाएका छन् ।

महेश बस्नेतसँग झलनाथ खनाल

निर्वाचनमा उम्मेदवार बनेका ५ जना पूर्वप्रधानमन्त्रीमा अरू सबै विजयी हुँदा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल भने पाराजित भएका छन् । खनाललाई हराएर नयाँ इतिहास बनाउने दाउमा मैदानमा उत्रिएका महेश बस्नेत आफ्नो लक्ष्यमा सफल भए । एमालेका पूर्व कार्यबाहक महासचिव र पूर्वअध्यक्षसमेत भएका खनाल अहिले नेकपा एसका वरिष्ठ नेता हुन्। एमालेबाट उम्मेदवार बनेका बस्नेत भने इलाम नगरपालिकाका पूर्वप्रमुख हुन् ।

बस्नेत २५ हजार ६९९ मतसहित विजयी हुँदा खनालले २३ हजार ४५ मत पाएका थिए । २०४८ सालदेखि २०५१, २०६४, २०७० र २०७४ सालका निर्वाचनमा इलामबाट निरन्तर निर्वाचित हुँदै आएका खनालको यो पहिलो हार हो । संसदीय निर्वाचनमा पहिलो पटक होमिएका बस्नेत भने २०५४ सालमा पनि इलाम नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

रवि लामिछानेसँग उमेश श्रेष्ठ

चितवन– २ मा रवि लामिछानेको उम्मेदवारी परेदेखि नै चर्चामा आएको यो क्षेत्र चुनावी परिणामपछि भने झनै चर्चामा छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने सर्वाधिक मतान्तरसहित विजयी हुँदा राज्यमन्त्रीसमेत रहेका कांग्रेस नेता उमेश श्रेष्ठले अनपेक्षित हार बेहोरे ।

४९ हजार २६४ मतका साथ लामिछाने विजयी हुँदा श्रेष्ठले भने १४ हजार ९८३ मत मात्र पाए । जारी मत गणनाको परिणामअनुसार लामिछानेले अहिलेसम्म सबैभन्दा धेरै अर्थात् ३४ हजार २८१ मतान्तर कायम गरेका छन् । २०७० र २०७४ सालमा समानुपातिकमार्फत संसद् प्रवेश गरेका श्रेष्ठ यस पटक प्रत्यक्षमार्फत संसद् छिर्ने दाउमा थिए । तर, सञ्चारकर्मीको पृष्ठभूमिबाट राजनीतिमा आएका लामिछाने उनीमाथि हावी भए।

डा. तोसिमा कार्कीसँग पम्फा भुसाल

ललितपुर– ३ मा निर्वाचनअघि आफ्नो जित निश्चित भएको प्रतिक्रिया दिने नेकपा (माओवादी केन्द्र)की नेत्री पम्फा भुसाल मत परिणामले भने निराश बनिन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीसँग पारजित भइन् । पहिलो पटक चुनावमा आएकी कार्कीसँग २ पटक सांसद र ४ पटक मन्त्री भइसकेकी भुसाल नराम्रोसँग पराजित भइन् ।

मतको सङ्ख्यात्मक हिसाब गर्ने हो भने कार्कीले पाएको मतको एक चौथाइ पनि भुसालले ल्याउन सकिनन् । कार्कीले ३१ हजार १३६ मत ल्याउँदा भुसालले जम्मा ८ हजार ७६९ मत पाइन्। निर्वाचन आयोगले खारेज गरेको आफ्नो उम्मेदवारी अदालतबाट फर्काएकी कार्की शल्य चिकित्सक हुन् । २०६४ र २०७४ सालमा यसै क्षेत्रबाट विजयी भएकी भुसाल भने माओवादीको पहिलो महिला सदस्य र अहिले उपमहासचिव हुन् ।

सोविता गौतमसँग ओनसरी घर्ती

नयाँ अनुहारसँग पराजय भोग्ने माओवादीकी अर्की नेत्री हुन् ओनसरी घर्ती । पूर्वसभामुख घर्ती काठमाडौं– २ मा सत्ता गठबन्धनबाट उम्मेदवार थिइन् । २०६४ सालदेखि निरन्तर संसद्मा रहेकी घर्ती पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमसँग पराजित भएकी हुन् ।

सोविताले १५ हजार २२९ मत पाउँदा घर्ती ९ हजार ४४८ मतसहित चौथो स्थानम रहिन् । अधिवक्ता र पत्रकारिता क्षेत्रमा समेत काम गरेकी गौतम यस पटकको निर्वाचनमा संसद् पुग्ने सबैभन्दा कान्छी विजयी उम्मेदवारसमेत हुन् । २ पटक समानुपातिक र १ पटक रोल्पा– २ बाट प्रत्यक्षमार्फत निर्वाचित भएकी घर्ती भने २०७० सालमा उपसभामुख र २०७२ सालमा सभामुख भएकी थिइन् ।

महेश बर्तौलासँग विरोध खतिवडा

संसदीय निर्वाचनमा पहिलो पटक भाग लिएका एमाले नेता महेश बर्तौला आफ्नो पहिलो प्रयासमै सफल भएका छन् । मकवानपुर– २ मा पूर्वस्वास्थ्यमन्त्री तथा नेकपा एसका नेता विरोध खतिवडालाई पराजित गर्दै बर्तौलाले संसद्को यात्रा तय गरेका हुन् ।

विद्यार्थी राजनीतिबाट उदाएका बर्तौला राजनीतिमा खतिवडालाई आफ्नो गुरु मान्थे । एमालेबाट खतिवडा नेकपा एसमा गएपछि मकवानपुर– २ मा बर्तौलाले स्थान पाएका थिए । आफ्नै गुरुसँग प्रतिस्पर्धा गरेका उनले यस क्षेत्रमा एमालेले २०४६ सालदेखि गाडेको झण्डालाई थप बलियो बनाएका छन् ।

खतिवडालाई बर्तौलाले ४ हजार ५२० मतान्तरले पराजित गरेका हुन् । खतिवडाले ३० हजार ३९६ मत ल्याए भने बर्तौलाले ३४ हजार ९१६ मत पाए । २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका खतिवडाले गठबन्धनको साथ पाउँदासमेत आफ्नो जितलाई निरन्तरता दिन सकेनन् ।

डा. सीके राउतसँग उपेन्द्र यादव

सप्तरी– २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित भएका छन् । ४ पटक देशको मन्त्री बन्दा ३ पटक उपप्रधानमन्त्री जस्तो महŒवपूर्ण जिम्मेवारी पाएका यादव यस पटक भने नयाँ अनुहारसँग पराजित भए ।

राउत मूलधारको राजनीतिमा नयाँ अनुहार हुन् भने यादव २०६३ सालदेखि राजनीतिमा सक्रिय भएका व्यक्ति हुन् । यादव २०६४ सालको निर्वाचनमा पहिलो पटक सहभागिता जनाएदेखि निरन्तर सांसद बनेका यादव २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट प्रतिनिधिसभा पुगेका थिए।

यादवलाई १८ हजारको भारी मतान्तरले पराजित गर्दै विजयी भएका राउत भने ‘मधेस देश’को नारा लिएर मधेसी जनतामाझ स्वतन्त्र आन्दोलनको रूपमा आफ्नो अभियानलाई सञ्चालन गरिरहेका थिए। राउतसँथै उनको नेतृत्वमा रहेको जनमत पार्टीले पनि पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएको हो । यादवलाई पराजित गर्न राउतले ३५ हजार ४२ मत आफ्नो पक्षमा पारे भने यादव १६ हजार ९६३ मतमै सीमित भए ।

योगेश गौचनसँग प्रेम तुलाचन

२९ वर्षीय युवा नेता योगेश गौचन थकालीसँग मुस्ताङका पुराना नेता तथा पूर्वसांसद प्रेम तुलाचन पराजित भए । २०५० सालमा गौचनको जन्म हुँदा आफ्नो राजनीतिक यात्रा तय गरिसकेका तुलाचन यस पटक भने आफ्नो राजनीतिक यात्राभन्दा कान्छा व्यक्तिसँग पराजय भोग्न बाध्य भए ।

गौचन ३ हजार ९९२ मतका साथ विजयी हुँदा तुलाचनले भने ३ हजार ७८ मत प्राप्त गरे । गौचन नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् भने तुलाचन एमालेका उम्मेदवार हुन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका तुलाचन विजयी भएका थिए । त्यस समयमा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थिए । उनै रोमी गौचनका छोरा हुन् अहिले विजयी योगेश गौचन ।

शिशिर खनालसँग भीमसेनदास प्रधान

एक पटक रक्षामन्त्री र २ पटक सांसद बनेका भीमसेनदास प्रधान यस पटक आफ्नो राजनीतिक उचाइलाई चुनावमार्फत कायम राख्न असफल भए । काठमाडौं– ६ मा प्रधानसँगै पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित २३ जना चुनावी मैदानमा थिए, जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल पनि चुनाव जित्ने अपेक्षासहित उम्मेदवार बनेका थिए ।

नेपाली कांग्रेसका प्रधान र एमालेका खनाल दुवै आफूले जित निकाल्ने दाबी गरिरहँदा बाजी भने राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिरले मारे । शिशिर २० हजार २०४ मत ल्याई विजयी भए भने एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ र प्रधानले ८ हजार ८०५ मत ल्याए । २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट कांग्रेसका प्रधान विजयी भएका थिए । प्रधान यसै क्षेत्रबाट २ पटक निर्वाचित भएका हुन् । २०६४ सालको निर्वाचनमा पराजित भए पनि बाँकी २ वटा निर्वाचनमा विजयी भएका प्रधानको यस पटक भने संसद् यात्रामा ‘ब्रेक’ लागेको छ ।

‘टिच फर नेपाल’का सहसंस्थापक तथा पूर्वअध्यक्ष रहेका ४३ वर्षीय शिशिर भने आफ्नो पहिलो प्रयासमा नै सफल भएका छन् । अमेरिकाबाट राजनीतिक अर्थशास्त्र र सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका उनी समाज सेवा र विभिन्न व्यवसायमा संलग्न छन् ।

हरि ढकालसँग सुरेन्द्र पाण्डे

चितवन– १ मा पनि नयाँ अनुहारसँग पुराना नेता पारजित भए । मैदानमा थिए एमालेका सुरेन्द्र पाण्डे, कांग्रेसका विश्वनाथ पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल। अन्त्यमा विजयी भने स्वतन्त्र पार्टीका ढकाल भए। पूर्वअर्थमन्त्री तथा एमालेका उपाध्यक्षसमेत रहेका पाण्डे राजनीतिमा भर्खर प्रवेश गरेका ढकालसँग ८ हजार मतान्तरले पराजित भए।

पाण्डेले २६ हजार ६०८ मत ल्याउँदा ढकाल ३४ हजार १८९ मतसहित विजयी भए। २०६५ सालमा अर्थमन्त्री बनेका पाण्डे २०५४ सालमा राष्ट्रियसभा सदस्य र २०६४ सालदेखि निरन्तर ३ कार्यकाल सांसद थिए । ढकाल भने शेयर बजारका सामान्य लगानीकर्ता हुन्।

प्रतिक्रिया दिनुहोस्