इलाम १ मा पुनः मतदानको मागसहित कानूनी बाटोमा जान्छौं : अध्यक्ष नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल राष्ट्रिय राजनीतिको विषयमा पनि आफूहरूले गम्भीर छलफल गरेको बताएका छन् ।आज बसेको सचिवालय बैठकपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘हामीले निर्वाचनको बारेमा समीक्षा गर्‍यौँ । खास गरी इलाम र उदयपुरको बारेमा छलफल गरेका छौँ । इलाममा अनेकौँ खालका विसङ्गतिहरू देखिएका छन् । हामीले इलामको बारेमा पुन मतदानको लागि कानुनी बाटोमा जानेबारेमा छलफल गरेका छौँ ।’

इलाम १ बाट नेकपा एसका सम्मानित नेता झलनाथ खनाल एमालेका महेश बस्नेतसँग पराजित भएका थिए । उनले आफूलाई धाँधली गराएर हराएको भन्दै कानुनी उपचारको बाटोमा जाने बताउँदै आइरहेका छन् । यस्तै, देश अझै दक्षिणपन्थी बाटोमा जान सक्ने भएकाले सतर्क हुनुपर्नेबारे गठबन्धन दलमा छलफल गरेको अध्यक्ष नेपालले बताएका छन् ।

सरकारको नेतृत्वबारे अहिलेसम्म कुनै छलफल नभएको समेत नेपालको भनाई छ । उनले वाम गठबन्धनको सरकार बन्ने कुनै सम्भावना नदेखेको प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्