गुरुलाई हराएर विजयी भए यी चेला



काठमाडौं । राजनीतिक विश्लेषकहरू राजनीतिलाई सम्भावना र चातुर्यको खेल मान्छन् । यो मान्यता यस पटकको निर्वाचनमा यथार्थ सावित पनि भयो । सम्भावना र चातुर्य, यी दुवै विशेषताका आडमा २ जना उम्मेदवार यस पटक चुनावी परीक्षामा सामेल भए । परीक्षामा सामेल मात्र भएनन्, उत्तीर्ण पनि भए ।

यी २ उम्मेदवार थिए, इलाम- १ का महेश बस्नेत र मकवानपुर- २ का महेश बर्तौला । यी २ जनामा २ वटा संयोग पनि थिए । यी दुवै जना नेकपा एमालेका नेता हुन् भने अर्को संयोग, यी दुवै उम्मेदवार आफ्ना पूर्वसहकर्मीसँग प्रतिस्पर्धामा थिए । अझ भन्ने हो भने सहकर्मीभन्दा पनि राजनीतिका आ-आफ्ना गुरुसँग प्रतिस्पर्धा गर्दै थिए यी २ उम्मेदवार । इलाम- १ मा बस्नेतसँग प्रतिस्पर्धा गरेका झलनाथ खनाल र मकवानपुर- २ मा बर्तौलासँग प्रतिस्पर्धा गर्ने विरोध खतिवडा दुवै जना महेशका राजनीतिक गुरु हुन् ।

२ महेश प्रतिनिधिसभाको सदस्यमा निर्वाचित हुँदै गर्दा उनीहरूले आफ्नै गुरुलाई पराजित गरे । यहाँ सम्भावना र चातुर्यको कुरा गरिरहँदा दुवै जनालाई यस पटक सम्भावनाको ढोका खोलिएको थियो । झलनाथ खानाल र विरोध खतिवडा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) जाँदाको फाइदा यी २ चेलालाई भयो । इलाममा खनालको एकछत्र राज भइरहँदा एमाले छाडेसँगै इलाम- १ मा प्रतिनिधिसभाका लागि उक्त क्षेत्रमा बलियो पकड बनाएका उम्मेदवारको खोजीमा एमाले थियो । पार्टीको त्यो खोज महेश बस्नेतमा पुगेर रोकियो । २ पटक इलाम नगरपालिकाका प्रमुख बनेका बस्नेतले पार्टीको विश्वासलाई जितमा परिणत गरिदिए ।

एमालेका पूर्व कार्यबाहक महासचिव र पूर्वअध्यक्षसमेत भएका खनाल अहिले नेकपा एसका सम्मानित नेता हुन् । बस्नेत २५ हजार ६९९ मतसहित विजयी हुँदा खनालले २३ हजार ४५ मत पाएका थिए । २०४८ सालदेखि २०५१, २०६४, २०७० र २०७४ सालका निर्वाचनमा इलामबाट निरन्तर निर्वाचित हुँदै आएका खनालको यो पहिलो हार हो । संसदीय निर्वाचनमा पहिलो पटक होमिएका बस्नेत भने २०५४ र २०७४ सालमा इलाम नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

निर्वाचनमा उम्मेदवार बनेका ५ जना पूर्वप्रधानमन्त्रीमा अरू सबै विजयी हुँदा नेकपा एसका खनाल भने पाराजित भए । खनाललाई हराएर नयाँ इतिहास बनाउने दाउमा मैदानमा उत्रिएका बस्नेत आफ्नो लक्ष्यमा सफल भए । गुरुले सिकाएको राजनीतिक कला र चातुर्यलाई राम्रोसँग प्रयोग गरेका बस्नेत खनालका सबैभन्दा उत्कृष्ट चेलाका रूपमा स्थापितसमेत भएका छन् । त्यस्तै, विरोध खतिवडा पनि एमाले छाडेर नेकपा एसमा जाँदा मकवानपुर- २ मा एमालेको विरासत जोगाएका खतिवडाको ‘रिप्लेस्मेन्ट’ बनेर महेश बर्तौला आए ।

खतिवडाको मार्गनिर्देशनमा राजनीति अँगालेका बर्तौला अहिले आफ्नै गुरुलाई पराजित गरेर एमालेमा खतिवडाको अभाव पूर्ति गर्ने लक्ष्यमा छन् । संसदीय निर्वाचनमा पहिलो पटक भाग लिएका बर्तौला आफ्नो पहिलो प्रयासमै सफल भएका छन् । मकवानपुर- २ मा पूर्वस्वास्थ्यमन्त्री तथा नेकपा एसका नेता विरोध खतिवडालाई पराजित गर्दै बर्तौलाले संसद्को यात्रा तय गरेका हुन् ।

विद्यार्थी राजनीतिबाट उदाएका बर्तौला राजनीतिमा खतिवडालाई आफ्नो गुरु मान्छन् । एमालेबाट खतिवडा नेकपा एसमा गएपछि मकवानपुर- २ मा बर्तौलाले स्थान पाएका थिए । आफ्नै गुरुसँग प्रतिस्पर्धा गरेका उनले यस क्षेत्रमा एमालेले २०४६ सालदेखि गाडेको झण्डालाई थप बलियो बनाएका छन् । अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष भइसकेका बर्तौला र केन्द्रमा मन्त्री भएका खतिवडा राजनीतिमा गुरु-चेलाका रूपमा चिनिन्छन् ।

खतिवडालाई बर्तौलाले ४ हजार ५२० मतान्तरले पराजित गरेका हुन् । खतिवडाले ३० हजार ३९६ मत ल्याए भने बर्तौलाले ३४ हजार ९१६ मत पाए । २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका खतिवडाले गठबन्धनको साथ पाउँदासमेत आफ्नो जितलाई निरन्तरता दिन सकेनन् । बर्तौला युवामाझ लोकप्रिय मानिन्छन् भने खतिवडालाई मकवानपुरमा एमालेको शाख जोगाउने नेताका रूपमा चिनिन्थ्यो । उनी पार्टी परिवार्तन गरेर नेकपा एस गएसँगै उनको यो ‘ट्याग’ अब बर्तौलामा टाँसिएको छ ।

चुनावमा जित र हार स्वाभाविकै हो तर आफ्ना चेलाहरूलाई आफैँलाई पराजित गर्न सक्ने गरी क्षमतावान् बनाउन सक्नु नै खनाल र खतिवडाको राजनीतिक सफलता पनि हो भन्छन् राजनीतिक विश्लेषकहरू ।

प्रतिक्रिया दिनुहोस्