सेयर बजारमा सामान्य गिरावट



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य गिरावट भएको छ। सामान्य उतारचढाव देखिएको बजारमा लगानीकर्ता सक्रिय नहुँदा परिसूचकमा पनि ठूलो घटबढ भएन भने कारोबार रकम पनि घट्दै गएको छ।

बुधबार बजार परिसूचक नेप्से ३.५१ अंक (०.१८ प्रतिशत)ले गिरावट भएर १९४९.८५ अंकमा बन्द भएको छ। नेप्सेसँगै अधिकाम्स उपसूचकमा गिरावट हुँदा लघुवित्त र व्यापार उपसूचक भने सामान्य बढेको छ। वित्त कम्पनी उपसूचक सर्वाधिक १.०९ प्रतिशतले गिरावट भएको छ।

बजारमा लगानीकर्ताको सक्रियता न्यून हुँदा कारोबार पनि घट्दै गएको छ। आइतबार २ अर्ब नाघेको कारोबार रकम सोमबार डेढ अर्बमा झरेको थियो भने मंगलबार १ अर्ब पनि पुगेन। बुधबार पनि नेप्सेमा २३ लाख ५५ हजार ८४५ कित्ता सेयर किनबेच हुँदा ८४ करोड २६ लाख ९५ हजारको कारोबार भएको छ।

जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ४ करोड ७९ लाख ३४ हजारको कारोबार हुँदा नबिल बैंकको ४ करोड १५ लाख ३ हजार र नेस्डो समृद्धि लघुवित्तको ३ करोड ८३ लाख १० हजारको कारोबार भएको छ।

बुधबार नेप्सेमा कुल १९४ कम्पनीको सेयर कारोबार हुँदा १२४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ। यस्तै ६४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ६ कम्पनीको भने स्थिर रहेको छ।

बुधबार कारोबार भएकोमध्ये ग्रिनलाइफ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ४.१७ प्रतिशतले वृद्धि हुँदा खप्तड लघुवित्तको सेयर मूल्य ४ प्रतिशत र रुरु जलविद्युत कम्पनीको सेयर मूल्य ३.३१ प्रतिशतले वृद्धि भएको छ ।

यता लक्ष्मी इक्विटी फण्डको इकाइ मूल्य ५.७६ प्रतिशतले गिरावट हुँदा वीन नेपाल लघुवित्तको सेयर मूल्य ४.४० प्रतिशत र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयर मूल्य ३.२७ प्रतिशतले गिरावट भएको छ।

प्रतिक्रिया दिनुहोस्