४ महिनामा १ हजार बढी विद्युतीय सवारी आयात



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिना (साउन-कात्तिक)मा १ हजारभन्दा बढी विद्युतीय सवारी आयात भएको छ । भदौसम्म यस्तो संख्या ७०५ थियो।

सरकारले विदेशी विनमय सञ्चिति जोगाउन डिजेल पेट्रोलबाट चल्ने सवारीको आयात रोकेपछि चालु आर्थिक वर्ष २०७९-८० मा विद्युतीय ४ पांग्रे सवारीको आयात उच्च दरमा बढेको छ। सरकारले यो वर्ष महँगा मूल्यका विद्युतीय सवारीको भन्सार दर बढाएको छ।

तर, पेट्रोल सवारीको आयात रोकिएका बेला विद्युतीय सवारीको आयात भने करिब ३ गुणाले बढेको छ। ४ महिनामा २ अर्ब ८६ करोड रुपैयाँ मूल्यको इलेक्ट्रिक गाडी आयात भएको छ ।

यस्तो आयातबाट सरकारले ८५ करोड ६२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। ३ महिनामा २ अर्ब ७३ करोड मूल्य बराबरको १०० किलोवाटसम्मका ९०५ वटा विद्युतीय सवारी नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ। त्यसैगरी १०० देखि २०० किलोवाटसम्मका २५ वटा र २०० देखि ३०० किलोवाटसम्मका ३ वटा बिजुली गाडी नेपाल भित्रिएका छन्।

कर सुहलियतका कारण यो वर्ष सय किलोवाटसम्मका विद्युतीय सवारीको आयात ह्वात्तै बढेको छ। बजेटले सस्ता र कम क्षमताका विद्युतीय गाडीलाई करमा बढी सहुलियत दिएकाले सोही रेन्जका बिजुली गाडीको आयात बढेको व्यापारीहरु बताउँछन्।

विद्युतीय गाडी प्रवर्द्धनका लागि करमा छुटसँगै रातिको समयमा चार्ज गर्दा छुट दिने र विद्युतीय चार्जिङ स्टेसनको संख्या बढाउने जस्ता योजना पनि सँगसँगै ल्याएमा यस्तो आयात थप बढ्ने नाडाको निष्कर्ष छ ।

गत आर्थिक वर्ष २०७८–७९ मा कुल १ हजार ८०५ वटा विद्युतीय (इलेक्ट्रिक) चारपांग्रे गाडी नेपालमा भित्रिएका थिए। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार गत वर्षदेखि नै बजारमा विद्युतीय गाडीको उच्च दरमा माग बढे पनि पर्याप्त आपूर्ति हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्