संसदीय दलको नेतामा देउवाको विकल्प खोज्न हुँदैन : उपसभापति खड्का



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका छन् ।

आज बिहीबार कांग्रेस नेता कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका उनले देउवाको नेतृत्वमा कांंग्रेस र सत्तारुढ गठबन्धन चुनावमा गएको भन्दै देउवाले चाहदासम्म दायाबाया नहुने बताएका हुन् ।

उपसभापति खड्काले कांग्रेस संसदीय दलको नेता सर्वसम्मत रुपले चयन गर्नुपर्ने र त्यसको वातावरण बनाउन आफू पनि क्रियाशील हुने बताएका छन् । कांग्रेसमा महामन्त्री गगन थापाले आफू संसदीय दलको चुनवा लड्ने बताइसकेका छन् । खड्काले संसदीय दलको नेतामा अन्य नेताहरुको आकांक्षालाई अन्यथा मान्न नहुने पनि बताए । व्यक्तिहरुको आकांक्षाकै बीचमा सर्वसहमतिको वातावरण बनाउने उनको भनाइ छ ।

उपसभापति खड्काले सत्ता गठबन्धनकै सरकार बनाउने बताएका छन् । वर्तमान गठबन्धनमा आबद्ध दलहरूको साथै अन्य दलहरूलाई पनि जोडेर गठबन्धन दलकै नेतृत्वमा सरकार बनाउने उनले बता्रए । त्यसका निम्ति कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य दलका नेताहरूसँग संवाद अगाडि बढाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्