२९ आयोजनाको बिजुली प्राधिकरणले नकिन्दा अरबौं नोक्सान



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुली नकिन्दा २९ वटा आयोजनाबाट उत्पादित विद्युत् खेर गइरहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूले उत्पादन गरेको बिजुली प्राधिकरणले खरिद नगर्दा अर्बौंको नोक्सान भएको स्वतन्त्र ऊर्जा उत्पादक संघले जनाएको छ ।

उक्त बिजुली नेपालमा खपत गर्न नसकेको र भारतमा बिक्री पनि गर्न नसक्दा नोक्सानी व्यहोर्नुपरेको संघको भनाइ छ। प्राधिकरणले खरिद नगर्दा कतिपय आयोजनाले उत्पादन नै बन्द गर्नु परेको र अधिकांशले लोड घटाउनु परेको संघले जनाएको छ।

असोजयता प्राधिकरणले आयोजनाको विद्युत खरिद गरेको छैन । अब सुख्खा सिजनमा भने उत्पादन कम हुने भएकाले प्राधिकरणले बिजुली खरिद गर्ने गर्दछ ।

वर्षायाममा पनि बढी विद्युत उत्पादन हुने र त्यतिबेला पनि यही अवस्था आउने भन्दै ऊर्जा उत्पादकहरू कहिले मन्त्रालय, कहिले प्राधिकरण धाइरहेका छन् ।

प्राधिकरणले बिजुली खरिद नगरेर नोक्सानमा परेका आयोजनाबारे तथ्यांक संकलन भइरहेको इप्पानले जनाएको छ । हालसम्म १० वटा आयोजनाको विवरण आएको र सोबाट ९२ करोड नोक्सान भएको छ ।

प्रतिक्रिया दिनुहोस्