कर्णालीमा खस्यो जेसीबी : २ जना मृत्यु, ३ जना बेपत्ता



काठमाडौँ । कालीकोट जिल्ला अन्तर्गत कर्णाली करिडोरको सडक खण्डबाट जेसीबी कर्णाली नदीमा खस्दा २ जनाको घटनास्थमै मृत्यु भएको छ । ३ जना बेपत्ता भएको छ ।

शनिबार दिउँसो साढे १ बजेको समयमा फुकोट कर्णाली हाईड्रोपावरको निर्माणाधीन सुरुङ भित्र पानीको अवस्था जाँच गरेर फर्कने क्रममा जेसीबी नदीमा खसेको प्रहरीले जनाएको छ। जेसीबी सडकबाट ८० मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जाएको छ ।

कालीकोटकै सान्नी त्रिवेणी गाउँपालिका-१ का ३० वर्षीय चरित्र सार्की र सोही पालिका २ का १६ वर्षीय युवराज बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

यस्तै, बेपत्ता हुनेमा कैलाली घर बताउने अन्दाजी २२/२३ वर्षीय कमल सोडारी, सान्नी त्रिवेणी नगरपालिका–१ कालीकोटका १९ वर्षीय उमेश गिरी र सोही ठाउँका १४ वर्षीय रक्तिम कार्की छन्। उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ।

यस्तै, घाइते तीनजनालाई तत्काल उद्धार गरेर बोलेरो जिपमा उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा पुर्‍याइएको छ।

घाइते हुनेहरुमा रास्कोट नगरपालिका-७ का १४ वर्षीय मिलन शाही, खाँडाचक्र नगरपालिका–११ का १४ वर्षीय विकास भारती र खाँडाचक्र-११ कै १४ वर्षीया आशिष भारती छन्।

प्रतिक्रिया दिनुहोस्