महिला हिंसा विरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्छ : मन्त्री रेग्मी



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा विरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताएकी छन् । आइतबार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यस्थलमा हुने लैंगिक हिंसा र न्यूनिकरणका उपाय विषयक अन्तरक्रियामा मन्त्री रेग्मीले यस्तो बताएकी हुन् ।

अभियानको रुपमा बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै उनले समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउन सडक र गाउँगाउँमा अभियान लिएर जानुपर्ने बताइन् । उनले महिला हिंसा गाउँघरमा मात्रै नभई सहरी क्षेत्रमा पनि उत्तिकै भएको पनि बताएकी थिइन् । मन्त्री रेग्मीले समाजलाई सचेत नगराइ महिला हिंसाको अन्त्य नहुने पनि तर्क गरेकी थिइन् ।

मन्त्री रेग्मीले महिला हिंसा महिलाको मात्र समस्या नभई समाज, राजनीतिक दल र सिङ्गो राष्ट्रको समस्या भएको भन्दै चिन्ता व्यक्त गरेकी थिइन् । घर, राजनीतिक दल र राज्यसत्ता सबैतिर महिला हिंसा हुने गरेको उनको भनाइ थियो । साथै महिला हिंसाको समस्या समाधानका लागि सबैले सामूहिक प्रयास गर्नुपर्नेमा उनले जोड दिइन् ।

हिंसा अन्त्य गर्ने मोडालिटीमा नै परिवर्तन गर्नुपर्ने पनि उनको तर्क थियो । हिंसाको जरो घरभित्रै रहेको र घरभित्रै महिला सुरक्षित नरहेको भन्दै यो समस्या महिलाले मात्र समाधान गर्न नसक्ने उनले बताएकी छन् । राज्यले मात्रै पनि समस्या समाधान गर्न सक्दैन । सबै सरोकारवाला घरभित्र चुल्हो चौकोदेखि समाजसम्म । नागरिक समाजदेखि राजनीतिक दलसम्म, राज्यसत्तासम्म, सरकारसम्म सबै लाग्न सक्यौं भने मात्र महिला हिंसा अन्त्य हुन्छ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्