अर्जेन्टिना र नेदरल्यान्ड्स फिफाको कारबाहीमा



काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सलाई कारबाही गर्ने भएको छ । कतार विश्वकप दौरान अनुशासन उल्लंघन गरेको भन्दै फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सलाई जरीवाना गर्ने भएको हो । फिफाले जरिवाना भने तोकिसकेको छैन । तर, दुबै टोलीलाई १६ हजार अमेरिकी डलरसम्म जरीवाना हुन सक्ने बताईएको छ ।

विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स भिडेका थिए । तनावपूर्ण खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय २-२ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा अर्जेन्टिना विजयी भएको थियो ।

त्यस खेलको अन्तिम समयमा नेदरल्यान्ड्सले गोल गर्दै खेल अतिरिक्त समयमा पुर्‍याएपछि अर्जेन्टिनाको बेन्चमा भएका खेलाडी मैदानमा प्रवेश गरेर विवादमा उत्रिएका थिए । यस्तै पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी भएपछि पनि विवाद भएको थियो।

अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेलमा १७ जनाले पहेलो कार्ड पाएका थिए । जसमा नेदरल्यान्ड्सका डेन्जेलले दुई पहेलो कार्डसहित रातो कार्ड पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्