थारु र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाइने



काठमाडौं । मधेसी आयोगले थारु र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ । आयोगको मसिंर २० गतेको बैठकबाट यसबारे निर्णय गरेको हो । मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ को उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमको सूची हटाउने निर्णय भएको आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले जानकारी दिए ।

यसअघि मधेसी आयोगले थारु र मुस्लिमलाई मधेसी समुदायको सूचीमा राखेर राष्ट्रपतिलाई सिफारिससहितको प्रतिवेदन बुझाएपछि विरोध भएको थियो । सो निर्णय कार्यान्वयनका लागि आयोगकी उपसचिव सविता डंगोलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छिन् ।

थारु र मुस्लिम समुदायका विभिन्न संघ(संगठनहरुले थारु र मुस्लिम समुदायको छुट्टै पहिचान र सभ्यता रहेको भन्दै मधेशी क्लस्टरमा आफूहरुलाई नराख्न आयोगमा निवेदन दिएका थिए । दत्तका अनुसार सो निवेदनमाथि आयोगले निर्णय लिँदै सूचीबाट हटाउने निर्णय भएको हो ।

मधेशी आयोगले २०७८र७९ को बार्षिक प्रतिवेदन मार्फत राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष थारु र मुस्लिम सहित १४९ जात लाई मधेशीको रुपमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्