अध्यक्ष तिमिल्सिनाले भने : संसद सचिवालयका कर्मचारीको सेवा सुविधा बढाउने अवस्था छैन



काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद सचिवालयका कर्मचारीहरुको सेवा सुविधा बढाउने अवस्था नरहेको स्पष्ट पारेका छन् ।

संसद सचिवालयका कर्मचारीहरुले आफ्नो सेवा सुविधा वृद्धि गर्न माग गरिरहेका बेला अध्यक्ष तिमिल्सिनाको यस्तो भनाइ बाहिर आएको हो । संसद सेवा दिवसको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक अवस्थामा सुधार नआइ संसद सचिवालयको लागि बजेट बढाउन नमिल्ने स्पष्ट पारेका हुन् ।

अध्यक्ष तिमिल्सिनाले जनताको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीहरुले आफ्नो सुविधा थप गर्न माग गर्न नहुनेतर्फ पनि सचेत गराएका छन् । देशको आर्थिक अवस्थामा सुधार आएपछि ती विषयहरुलाई सम्बोधन गर्न जोड दिने उनको आश्वासन थियो ।

अध्यक्ष तिमिल्सिनाले सांसदहरुको सुविधा बढाउनुपर्ने विषय पनि उठान हुने गरेको उल्लेख गर्दै अहिले त्यस विषयमा ध्यान दिन नसकिने बताएका छन् । उनले भने, ‘संसद सचिवालयका कर्मचारीहरुको सेवा, सुविधा बढाउने अहिले पनि कहीँ पनि ठाउँ छैन।’अध्यक्ष तिमिल्सिनाले संसदको काम कारबाहीबारे वस्तुनिष्ठ समीक्षा गर्दै अघि बढ्नुपर्ने आवश्यकतासमेत औंल्याए ।

प्रतिक्रिया दिनुहोस्