वीरगन्जको ‘होल्डिङ सेन्टर’ अलपत्र



वीरगञ्ज । सरकारले वीरगन्जमा निर्माण गरेको ‘होल्डिङ सेन्टर’ अलपत्र भएको छ । कोरोना महामारीको समयमा भारतबाट आएका यात्रुहरुलाई होल्ड गराउन बनाएको ‘होल्डिङ सेन्टर’ कोरोना महामारी घटेसँगै अलपत्र परेको हो ।

तत्कालीन समयमा विद्यालय तथा कलेजमा क्वारेन्टिन बनाउँदा चर्को आलोचना भएपछि सरकारले विसं २०७८ वैशाख ५ गते देशका विभिन्न ८ नाकामा होल्डिङ सेन्टर निर्माण सुरु गरेको थियो।

सरकारले २०७८ साल असार २५ देखि वीरगन्ज भन्सार कार्यालयको पश्चिमपट्टिको गोदाम नजिक करिब २ बिघा जग्गामा होल्डिङ सेन्टर निर्माण गर्दा २८ करोड लगानी गरेको छ ।

नेपाली सेनाको व्यवस्थापकीय जिम्मेवारीमा हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर निर्माणका लागि ठेक्का पाएको थियो। निर्माण सुरु भएको ९ महिना अर्थात् २०७८ साल चैत मसान्तमा होल्डिङ सेन्टरको निर्माण सकिएको थियो।

उनका अनुसार होल्डिङ सेन्टरमा ६० वटा भवन छन्। जसमा १३ वटा भान्सा घर, २२ वटा शौचालय तथा एक हजारभन्दा बढी मानिस अट्ने २२ वटा क्वारेन्टिन भवन छन्।

क्वारेन्टिनमा ९ सय शय्यामा सामान्य लक्षण भएकालाई राखिने र बाँकी एक सय शय्यामा जटिल अवस्थाका बिरामीलाई राखिनेछ। साथै सरकारी प्रतिनिधिका लागि ३ वटा एसीसहितका भवन निर्माण गरिएको छ।

सेन्टरबाट केही समयअघि १६ वटा पङ्खा चोरी भएपछि अहिले २ सशस्त्र प्रहरी र एक नेपाल प्रहरीले सेन्टरको सुरक्षा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्