प्रहरी प्रमुखको कार्यावधि थप्न कसरत



काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी)को ३० वर्षे उमेर हद हटाउने भएको छ । ३० वर्षे उमेर हद बढाएर ३२ वर्ष पुर्‍याउने प्रक्रिया अघि बढाइएको छ ।  अध्यादेशमार्फत सेवा अवधि हेरफेर गर्ने प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ । यसबारेको फाइल गृह मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगेको छ । प्रहरी मुख्यालयले २ साताअघि गृह मन्त्रालयमा यस्तो फाइल पेस गरेको हो ।

प्रस्ताव प्राप्त भएको बताउँदै गृहका एक उच्च अधिकारीले द नेपालटप दैनिकसँग भने, ‘केही दिन अगाडि फाइल आएको हो, थप प्रक्रिया अघि बढे/नबढेको बारे म अपडेट हुन बाँकी छ ।’ वर्तमान प्रहरी प्रमुख धीरजप्रताप सिंहको सेवा अवधिलाई निरन्तरता दिनेगरी प्रस्ताव आएको ती अधिकारीले बताए । सिंह गत १८ वैशाखमा नेपाल प्रहरीको २९औँ महानिरीक्षक नियुक्त भएका थिए । सेवा अवधि हेरफेर नभए उनी आगामी ४ महिनापछि ३० वर्षे सेवा पूरा गरेर स्वतः अवकाश हुनेछन् ।

हाल उमेर हद ५८ वर्ष वा ४ वर्षे कार्यकाल सकिएपछि आईजीपी अवकास हुने प्रावधान छ । प्रहरी प्रमुखको सेवा अवधि हेरफेरको कसरत सिंह आईजीपी भएलगत्तै सुरु भएको हो ।
सिंहपछि अतिरिक्त महानिरीक्षकहरू सहकुलबहादुर थापा, दिवेश लोहनी, पूजा सिंह र डा. आशा सिंह (प्राविधिक समूह) आईजीपीका दाबेदार छन् । सेवा अवधि हेरफेर नभए उनीहरू पनि सिंहसँगै आगामी चैतदेखि अवकाशमा जानेछन् । उनीहरू सिंहका ब्याजी हुन् । एआईजीमा ८ जनाको दरबन्दी रहेकामा ४ जना रिक्त छन् ।

सिंहअघिका आईजीपीहरूले पनि ३० वर्षे अवधि हेरफेर गर्न कसरत गरेका थिए । १५ फागुन २०४९ मा प्रहरी नियमावली संशोधन भएपछि प्रहरी प्रमुखको ३० वर्षे सेवा अवधि लागू भएको थियो । त्यसयता विभिन्न समयमा गठन भएका कार्यदलले प्रतिवेदन बुझाए पनि सेवा अवधि हेरफेर भएको छैन । खारिएका जनशक्तिले ३० वर्षमै अवकास लिँदा प्रहरी सङ्गठनले रिक्तता महसुस गर्ने र अवकाससँगै विज्ञ व्यक्तिको खाँचो हुने कार्यदलका सुझाव छन् ।

अध्यादेशमार्फत सेवा अवधि हेरफेर गर्ने प्रक्रिया अघि बढाइएको बारे प्रहरी नायव महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले अनभिज्ञता जनाए । ‘अन्य देशका अभ्यासलाई समेत अध्ययन गर्दै उमेर हद बढाउनुपर्छ भन्ने बहस विगतदेखिको हो तर अहिले फाइल अघि बढे/नबढेको जानकारी छैन’, प्रवक्तासमेत रहेका राईले भने । धेरैजसो देशहरूमा प्रहरी प्रमुखको उमेर हद ६० वर्षभन्दा माथि रहेको उल्लेख गर्दै उनले भने, ‘सेवा अवधि थप्दा नेपालका लागि नौलो जस्तो लाग्छ, अवधि थप्दा विज्ञ र अनुभवी व्यक्तिले सङ्गठनको नेतृत्व गर्ने हो, त्यसको लाभ राज्यलाई नै हुनेछ ।’

अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, फ्रान्स, भारत, चीन, क्यानाडा, अस्टे«लिया, जर्मनी, इजरायल, ब्राजिल, फिनल्यान्ड, बेल्जियमलगायतका देशहरूमा प्रहरी प्रमुखको अवकाश उमेर ६० वर्षभन्दा माथि छ ।

प्रतिक्रिया दिनुहोस्