अहिले दलहरुबीच सहमति र समझदारीको खाँचो छ : देव गुरुङ



काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ निर्वाचनको परिणामले अहिलेको व्यवस्थामाथि नै प्रश्न उठाएको बताएका छन् । आज शुक्रबार सरकार गठन तथा समसामयिक राजनीति विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिलेको उपलब्धि रक्षा गर्न आवश्यक भएको बताएका हुन् ।

उनले भने, ‘यो निर्वाचनले केही नयाँ दलको पनि उदय भएको छ । ती दलको एजेण्डाबारे बोलेका छैनन् । तर, पुराना दलहरुको केही सीट घटेको छ । नयाँले दल जन्मनुको पछाडि राजनीतिमा केही संकेत देखिएको छ ।’यो व्यवस्था जोगाउन नसके मुलुकमा अस्थिरता र अराजकता बढ्ने बताए । मुलुक संकटमा पुगेको बेलामा दलहरुबीच संवाद र सहकार्य गरेर जानुपर्ने बताए ।

उनले भने, ‘अहिले दलहरुबीच सहमति र समझदारीको खाँचो छ । यस्तो अवस्थामा एकले अर्कालाई निषेधको बाटोमा जानु हुँदैन । यो पनि एउटा परिक्षणको रुपमा रहेको छ । एकले अर्कालाई समाप्त पार्ने दिशातर्फ जान थाल्यो भने मुलुक गम्भिर समस्यामा पर्नसक्छ ।’

प्रतिक्रिया दिनुहोस्