गणेश लामा सहित ३ जनालाई कारबाही गर्न काभ्रे कांग्रेसको सिफारिस



काभ्रे । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस काभ्रेले २ केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ।

पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा र क्षेत्र-२ का सभापति महेश खरेललाई कारबाही गर्नुपर्ने भन्दै सिफारिस गरेको हो ।

मंसिर ४ गतेको चुनावमा क्षेत्र-२ का प्रत्यक्षतर्फ उम्मेदवार पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं र प्रदेशसभा सदस्यका उम्मेदवार जिल्ला सभापति तीर्थ लामालाई असहयोग गरेको र विपक्षी उम्मेदवारलाई मत मागेकोले उनीहरुलाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरेको कांग्रेस जिल्ला समितिले जनाएको छ ।

केन्द्रीय सदस्यद्वय आचार्य र लामा तथा क्षेत्रीय सभापति खरेलले पार्टी र गठबन्धनको उम्मेदवारलाई मत नमागेको, आफू निकटलाई सूर्य, घण्टी तथा हलो चिह्नमा मतदान गर्न लगाएको भन्दै जिल्ला कार्यसमितिमा उजुरी परेको थियो।

त्यसैगरी कांग्रेस काभ्रेले बनेपा नगरपालिकाबाट प्रदेशसभा सदस्य उम्मेदवारलाई भन्दा प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई ३ हजारभन्दा बढी मत कम आउनुको कारण प्रस्ट पार्न प्रदेश सांसद कञ्चनचन्द्र बादे र बनेपा नगर समितिलाई पनि निर्देशन दिने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्