लिटरेचर फेस्टिभलको सांगीतिक प्रायोजक ‘खुकुरी रम’



काठमाडौं । ६ पुसदेखि पोखराको फेवाताल किनारमा सुरु हुने ‘१०औं नेपाल लिटरेचर फेस्टिभल’अन्तर्गत आयोजना हुने सांगीतिक कार्यक्रमहरुको प्रायोजन खुकुरी रमले गर्ने भएको छ ।

फेस्टिबलअन्तर्गत ७ पुसमा स्वर्गीय संगीतकार गोपाल योञ्जनको २५औं स्मृति दिवसको अवसर पारेर विशेष सांगीतिक कार्यक्रम आयोजना हुनेछ । योञ्जनका गीतहरुको सँगालो ‘गोपालय’ पनि सोही अवसरमा विमोचन गरिनेछ ।

लिटरेचर फेस्टिबलमा यसबाहेक लोक-ब्याण्ड रैथाने र फ्यूजन गिटारवादक अनिल शाहीले पनि आफ्नो ब्याण्डसँगै विशेष प्रस्तुती दिनेछन् । ‘खुकुरी रम’ ‘दि नेपाल डिस्टीलरिज’ले ६२ वर्षदेखि उत्पादन गर्दै आएको छ । कम्पनीका इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले कला, साहित्य र संगीतप्रेमीहरुको विशेष उत्सव ‘नेपाल लिटरेचर फेस्टिभल’सँग सहकार्य गर्न पाउँदा आफूहरुलाई गौरव महसुस भएको बताइन् ।

लिटरेचर फेस्टिभलको आयोजक बुकवर्म फाउण्डेसनका निर्देशक निरज भारीले नेपालीहरुको पहिचानको रुपमा धेरै देशमा निर्यात हुने उत्पादनलाई लिटरेचर फेस्टिभलअन्तर्गतका सांगीतिक कार्यक्रमहरुसँग जोड्न पाउँदा आफूहरुलाई पनि खुशी लागेको बताए ।

११ पुससम्म चल्ने शब्दहरुको उत्सवमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक विमर्श हुनेछन् । फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुल, सह-प्राध्यापक एवं लेखक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तिहरु पनि सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्