५ वर्ष स्थायी सरकार कायम राख्न नयाँ गठबन्धन बनाउनुपर्‍यो : देव गुरुङ



भैरहवा । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले आगामी ५ वर्ष स्थायी सरकार कायम राख्न नयाँ गठबन्धन बनाउनु परेको बताएका छन् । यसपटक निर्वाचनको परिणमअनुसार कुनै पनि दलको बहुमत नआएले सरकार ५ वर्ष नटिक्ने र मुलुकले स्थिरता नपाउने देखिएपछि नयाँ सत्ता समीकरण बनेको स्पष्ट पारेका हुन् ।

प्रेस सेन्टर नेपाल शाखाले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले पुरानो नेतृत्वबाट राष्ट्रिय अस्मिताको रक्षा हुन नसक्ने पार्टीको निचोडपछि वर्तमान समीकरण बनेको जिकीर गरेका हुन् । ‘गत निर्वाचनबाट मुलकुको परिस्थिति केही संकटपूर्ण अवस्थाबाट गुज्रिएको देखिन्छ,’ उनले भने, ‘निर्वाचनमा जुन खालका परिणामका प्रवृत्तिहरू देखिए, त्यो प्रवृत्तिले संसद्ले पाँच वर्षसम्म आफ्नो कार्यकाल पूरा नगर्ने हो कि ? सरकारले स्थिरता र स्थायित्व कायम गर्न नसक्ने हो कि ? भन्ने भय पैदा भएपछि स्थिरता र स्वाधीनताका लागि माओवादीको नेतृत्वमा नयाँ सरकार बनेको हो ।’

अब सरकारलाई स्थिरता प्रदान गर्दै जनअपेक्षाअनुसार काम गर्दै लैजाने उनले बताए । साथै महासचिव गुरुङले संसद्को कार्यकाल पनि पाँच वर्ष पूरा हुने जनाए । ‘अस्थिरता र अराजकता पैदा भयो भने मुलुकको राष्ट्रिय अस्मिता र स्वाधीनता झन् गम्भीर संकटमा पर्छ,’ उनले भने, ‘सरकारको नेतृत्व (प्रधानमन्त्री) परिवर्तका लागि तत्कालीन पाँचदलीय गठबन्धनभित्र अधिकतम प्रयास गर्दा पनि सहमति जुट्न नसकेपछि नयाँ परिस्थिति सिर्जना भएको हो ।’

अहिले सरकार बनाएका दलहरुबीच गठबन्धन नभई कार्यगत एकता मात्रै भएको उनले बताए । ‘अब सहमति र सहकार्य गर्दै सकभर राष्ट्रिय सहमतिको सरकार बनाउने आफूहरुको चाहना छ,’ उनले भने, ‘त्यसका लागि सबैजसो दललाई सरकारमा ल्याउने प्रयास गरिनेछ ।’ आफूहरुको प्रयास सबै बाम एकै ठाउँ भन्ने नै रहेको उनले बताए । ‘हाम्रो चाहना सबै कम्युनिस्ट पार्टीहरू मिल्नुपर्छ भन्ने नै हो,’ उनले भने, ‘चाहे त्यो संसद्‌मा भएका हुन् वा बाहिर भएका सबै एकै ठाउमा भएर बृहत् कम्युनिस्ट पार्टी बनाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्