अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको खुसीमा पोखरामा भोलि बिदा



काठमाडौँ। पोखरा महानगरपालिकाले भोलि (आइतबार) सार्वजनिक बिदा दिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको खुसीमा महानगरले सार्वजनिक बिदा दिएको हो ।

५ दशक लामो उतारचढावपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दै छन्। यही खुसीमा पोखरा महानगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ। विमानस्थलको उद्घाटनसँगै ५० वर्षअघि पोखरेलीले देखेको सपना आइतबार पूरा हुने भएको छ।

शुभारम्भ समारोहमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा उडान हुने विमानस्थलले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटन संघ संस्थाको सहभागितामा विमानस्थलको उद्घाटन हुँदैछ । बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालक दल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ ।

आइतबार अमरसिंह चोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित र्‍याली निकाल्ने तयारी छ। विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण सुरु गरेका तत्कालीन अञ्चलाधीश शंकरराज पाठकलाई अभिनन्दन गर्ने कार्यक्रम छ। उनीसँगै तत्कालीन प्लानर पदमबहादुर क्षेत्रीलाई पनि अभिनन्दन गर्ने कार्यक्रम थियो तर उनी उपचारका लागि बाहिर छन्।

प्रतिक्रिया दिनुहोस्