पुसको २०-२१ मा मधेसमा जसपाले दलको नेता चयन गर्ने



काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पुसको २०-२१ मा मात्र मधेस प्रदेशमा दलको नेता चयन गर्ने भएका छन् । पार्टीको राजनीतिक समितिको बैठक पुस १८ र १९ गते काठमाडौँमा बस्ने भएको कारण नेताहरु त्यता व्यस्त हुने भएकाले उक्त बैठक सकेपछि मात्र दलको नेता चयन गर्ने जसपाले जनाएको छ ।

आजदेखि जसपाको कार्यकारिणी समितिको बैठक सुरु भएको छ। यो बैठकपछि राजनीतिक समितिको बैठक सुरु हुनेछ। प्रदेशसभामा सदस्य रहेका लालबाबु राउत र मनिष सुमन कार्यकारिणी समिति सदस्य हुन्। उनीहरू बैठकमा व्यस्त रहने भएका कारणले नेता चयन प्रक्रिया लम्बिने भएको छ।

संसदीय दलको नेता चयन गर्नका लागि लालकिशोर साहको संयोजकत्वमा ३ सदस्य निर्वाचन समिति गठन गरिएको छ। सो समितिले आफ्नो चुनावी प्रक्रिया सुरु गरिसकेको छ। संसदीय दलको नेता सर्वसम्मतिले चयन हुने सम्भावना छ। सहमति नभए मात्र चुनावमा जाने जसपाले जनाएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादव जनकपुर गएर प्रदेशसभाका सदस्यहरूसँग छलफलसमेत गरेका थिए। छलफलमा उनले प्रदेशसभाका सदस्य सबैजना संसदीय दलका नेताका लागि योग्य रहेको तर त्यसमध्ये एकजना मात्र नेता हुने प्रावधान रहेकाले सहमतिमा चयन गर्न सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस्