माधव नेपाल नेतृत्वको समूहलाई स्वीकार गर्दैनौँ : ज्ञवाली



काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गल्ती स्वीकार नगरेसम्म माधव नेपाल नेतृत्वको समूहलाई स्वीकार गर्न नसकिने बताएका छन् । पार्टी विभाजनको औचित्य कुनै पनि ढंगले पुष्टि नहुने भन्दै उनले नेपाल समूहले पार्टी विभाज गर्नु गल्ति भएको भन्दै माफि नमागेसम्म स्वीकार गर्न नसकिने बताएका हुन् ।

एमाले निकट रिटर्नी फेडरेशनको पहिलो स्थापना दिवसलाई शनिवार सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले गम्भीर ‘रियलाइजेशन’ बेगर अरू कुनै पनि कुरा सम्भव नरहेको बताए।

माधव नेपाललाई राष्ट्रपति बनाउन लागिएको र नेकपा एसलाई मिलाउन लागिएको हल्लातर्फ झुटो भएको भन्दै ज्ञवलीले नेपाललाई राष्ट्रपति बनाउन सम्भव नरहेको बताए ।

ज्ञवालीले भने, ‘हामीले बिर्सेका छैनौँ र बिर्सने कुरा पनि होइन। एमालेको विभाजन र एमालेलाई सरकारबाट विस्थापन गर्नका लागि गरिएको यावत क्रियाकलाप जस्टिफाइ हुन सक्दैन। हामी पूर्वाग्रह राख्दैनौँ तर गम्भीर रियालइजेशन बेगर अरू धेरै कुरा सम्भव छैन।सरकारलाई विश्वासको मत देऊ भन्ने कुरा, सरकारको दायरा फराकिलो बनाउन एकाध पोर्टफोलियो दिने कुरा स्वाभाविक होला। तर जुन कष्ट र आँधी हुरीका साथ एमालेको डुंगालाई यहाँसम्म ल्याइएको छ, सतिसाल जस्ता कार्यकर्ताको भावनाविपरीत कुनै निर्णय हुँदैन, तपाईँहरू तनावमुक्त भएर पार्टी निर्माणमा लाग्नुस्।’

ज्ञवालीले माओवादी र एमालेको विभाजनलाई बरु स्वाभाविक मान्न सकिने र यसमा अदालतको र आफ्नै ३ वर्षको अनुभवले पनि त्यस्तै भनेको बताए। उपमहासचिव ज्ञवालीले एमालेलाई बिगार्ने नियतले अब कसैलाई पनि स्थान नदिइने प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्