निराकारको मृत्युले शोकमा बिर्तामोड



काठमाडौं । कम्बोडियाको एउटा क्यासिनोमा आगलागी हुँदा मृत्यु भएका ४० वर्षीय निराकार पाण्डेले आफ्नो अन्तिम समयमा सामाजिक सञ्जालमार्फत परिवारसँग गरेको कुराकानीले सबैलाई भावुक बनाएको छ।

झापाको बिर्तामोड नगरपालिका– १ घर भएका पाण्डेको मृत्युपछि अहिले बिर्तामोड शोकमा छ। पाण्डे बिर्तामोड नगरपालिका–१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा हुन्।

क्यासिनोमा आगलागी हुँदा पाण्डेले ज्यान जोगाउन १२ तल्ला माथिबाट हामफालेका थिए । हाम फाल्नुअघि उनले परिवारलाई भाइबर कल गरेका पनि गरेका थिए। उक्त दुखद् भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

मृत्युको केही समयअघि उनले घरमा भिडियो कल गरेर परिवारका सदस्यहरूलाई घटनाबारे सुनाएका थिए। उनले भिडियो कलमा छोरालाई सम्झाउँदै भनेका वाक्यले सबैलाई मर्माहित बनाएको छ। उनले छोरालाई सम्बोधन गर्दै भनेका छन्, ‘सबैभन्दा ठुलो कुरा राम्रो मान्छे बन्नुपर्छ है ! कसैलाई चिट गर्नुहुँदैन। फ्रड गर्नुहुँदैन। आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा !’

आगलागी हुँदा १ नेपालीसहित २६ जनाको मृत्यु र दर्जनौँ घाइते भएका थिए। ग्रान्ड डायमन्ड सिटी नाम गरेको उक्त क्यासिनोमा लागेको आगो निभाउन १२ घन्टाभन्दा बढी समय लागेको थियो। आगो नियन्त्रणमा लिन थाइल्यान्डबाट समेत वारुणयन्त्र पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्