जुम्लामा चिसोसँगै रुघाखोकीको बिरामी बढ्यो



काठमाडौँ । जुम्लालगायत हिमाली जिल्लाका माथिल्लो कर्णालीमा चिसो बढेसँगै रुघाखोकीको बिरामी पनि बढ्न थालेको छ । उक्त क्षेत्रमा अत्याधिक चिसो बढेसँगै रुघाखोकीका बिरामी बृद्धि हुन थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ। चिसो बढेपछि अस्पतालमा बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ ।

अस्पतालमा उपचारका लागि पहिलाभन्दा यस याममा बढी बिरामी आउन थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत प्रतिष्ठानमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामीको संख्या बढेको छ। सामान्य अवस्थामा औसतमा १०० जना बिरामी उपचारका लागि आउने गरेकामा यो समयमा दैनिक २ सय ९० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन्।

लगातार बढ्दै गएको जाडोबाट बालबालिका, वृद्ध र सुत्केरी महिला बढी प्रभावित भएका छन्। बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको प्रतिष्ठानले जनाएको छ । चिसो ह्वात्तै बढेपछि जुम्लालगायत माथिल्लो कर्णालीका हिमाली जिल्लाको जनजीवन कष्टकर बनेको छ।

बिहानमा धैरै चिसो हुने गरेको छ। चिसोले सदरमुकाम खलङ्गामा चहलपहल घटेको छ। बिहानको समयमा सडकमा सवारीसाधनसमेत चल्न निकै गाह्रो हुने स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्