फिर्ता भयो वृद्धि भएको दूधको मूल्य



काठमाडौँ । केही निजी डेरीले बढाएको दूधको मूल्य फिर्ता लिएको छ । दूधको उत्पादन लागत बढेको भन्दै बिक्री मूल्य बढाएका डेरी व्यवसायीहरूले मूल्यवृद्धिको निर्णय फिर्ता लिएको हो ।

आज कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव, दुग्ध विकास बोर्ड र सरोकारवालाबीच भएको छलफलपछि दूधको मूल्यवृद्धिको निर्णय स्थगन भएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।

आज सरोकारवाला निकायहरूसँग बसेको बैठकको निर्णयअनुसार हाल वृद्धि गरिएको दूधको मूल्य स्थगन गरिएको हो। दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ता क्रयशक्तिसमेतको वैज्ञानिक तवरबाट यथाशीघ्र अध्ययन गरी मूल्य समायोजन गर्न सहमति भएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।

दूधको मूल्यवृद्धि स्थगन भएको बारे राष्ट्रिय दुग्ध विकास बोर्डले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी सङ्घ र डेरी उद्योग सङ्घलाई आइतबार नै पत्राचार गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्