एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज बस्दै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ। एकीकृत समाजवादी पार्टी अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न आइतबार स्थायी कमिटी बैठक बसेको भए पनि कुनै निर्णय नभएको र यही विषयलाई पोलिटब्युरो बैठकमा लैजान लागिएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

अन्य दलहरूसँगको सहकार्य तथा सरकारमा सहभागी हुने नहुने बारे पोलिटब्युरो बैठकमा छलफल गरिने उनको भनाइ छ। “वाम दलहरूलाई एकैठाउँमा उभ्याउनका निम्ति हामीले अग्रसरता लिने भन्ने छ। अहिले नै कुनै पार्टीसँग एकतामा जाने कुरा छलफलमा आइसकेको छैन । सरकारमा जाने वा नजाने भन्ने विषयमा पनि भोलि बस्ने पोलिटब्युरो बैठकले नै टुङ्गो लगाउनेछ”, प्रवक्ता खतिवडाले भने।

अहिलेको सरकारलाई समर्थन गर्ने कि नगर्ने विषयमा एकीकृत समाजवादीमा नेताहरूले फरक-फरक धारणा राखेका छन्। केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए।

अध्यक्ष नेपालले प्रचण्डको प्रस्तावलाई स्थायी कमिटी बैठकमा छलफल गर्ने जवाफ दिएका थिए। यसबारे शनिबार र आइतबार बसेको स्थायी कमिटी बैठकमा एकीकृत समाजवादीका नेताहरूले आ-आफ्ना धारणा राखेका छन्। अधिकांश नेताहरूले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर जानुपर्ने धारणा राखे पनि केही नेताहरूले भने सरकारलाई समर्थन गर्ने र सरकारमा जान नहुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्