नेपाल टी-२० लिग क्रिकेटमा पोखराको जित



पोखारा । पोखरा एभेन्जर्सले नेपाल टी-२० लिग क्रिकेटमा जित निकालेको छ । सोमबार बिहान भएको खेलमा पोखराले काठमाडौं नाइट्सलाई पाँच विकेटले पराजित गरेको हो ।

१६५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पोखराले १९.४ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टायो । पोखराका लागि ओपनर सुमित महर्जनले उत्कृष्ट प्रदर्शन गरे । उनले ५२ बलमा सात चौका र तीन छक्का प्रहार गर्दै ७६ रन बनाए ।

त्यस्तै, पोखराका कप्तान उपुल थरंगाले ४९ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै ५८ रन बनाए । कुशल मल्ल १४ रनमा अविजित रहँदा आशिफ शेखले सात रन बनाए । बलिङतर्फ काठमाडौंका कमलसिंह ऐरीले तीन विकेट लिए ।

त्रिवि क्रिकेटट मैदानमा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं नाइट्सले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १६४ रन बनाएको थियो । काठमाडौंका लागि एलेक्स ब्लाकीले २८ बलमा सात छक्का र तीन चौका प्रहार गर्दै ६४ रन बनाए । सुनाम गौतमले ४५ र भिरन्दिप सिंहले ३२ रन बनाए ।

बलिङतर्फ पोखरा एभेन्जर्सका तुल थापाले दुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्