वामपन्थी एकताको सरकार भए सरकारमा जान सकिन्छ : झलनाथ खनाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले वामपन्थी एकताको सरकार बनेमा स्वतः सहभागी हुने सम्भावना रहेको बताएका छन् । पार्टी पोलिटब्यूरो बैठकमा ८ पृष्ठको दस्तावेज पेश गर्दै खनालले अहिलेकै अवस्थामा सरकारमा जानु उचित नहुने उल्लेख गरेका छन् ।

नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी मिल्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आवश्यक नपर्ने उल्लेख गरेका छन् । खनालले वाम एकताको सरकार बन्न सक्ने आधार भएपनि राजावादी र दक्षिणपन्थी शक्तिसहितको सरकार बनेको तर्क गरेका छन् ।

‘जस्तो रुपको सरकार बनिरहेको छ र त्यसले मन्त्रालयको जसरी बाँडफाँड गरिरहेको छ, त्यसले जनतामा शंका, अविश्वास र निरााशालाई बढाइरहेको छ’ पूर्वप्रधानमन्त्री खनालले लेखेका छन्, ‘यस्तो सरकारमा सहभागी हुन हाम्रो जस्तो क्रान्तिकारी विद्रोही पार्टीले लालायित हुन जरुरी छैन ।’

सरकारमा सहभागी हुने अवस्था नआएमा पार्टी निर्माणमा लाग्नुपर्ने सुझाव खनालले प्रस्तुत गरेका छन् । पार्टी बन्न सक्दैन र अरु पार्टीमा बिलय गराउनुपर्छ भन्ने मनोविज्ञान पयालनवादी र सिर्जनवादी सोंच भएको खनालले तर्क गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्