सुदूरपश्चिममा पुस २८ गते सभामुखको चुनाव हुने



काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा आगामी पुस २८ गते सभामुखको चुनाव हुने भएको छ । ज्येष्ठ सदस्य मानबहादुर रावलले यहि पुस २८ गते सभामुखको निर्वाचन गराउनका लागि सचिव देवबहादुर बोगटीलाई तयारी अघि बढाउन निर्देशन दिएका छन् ।

यसअघि माघ २ गते चुनाव हुने सूचना प्रवाह भएको थियो । नेपालको संविधान १८१ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम ७ बमोजिम समामुखको निर्वाचनका लागि पुस २८ गते दिउँसो १ बजेका लागि समय निर्धारण गरिएको हो । प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा सञ्चालन गर्न निर्माण गरेको प्रदेशसभा नियमावली २०७४ र पहिलो संशोधन २०७६ लाई सर्वसम्मतले स्वीकृत गरेको छ ।

पहिलो वैठकमा प्रदेशसभा सदस्यले शुभकामना आदान–प्रदान गरेका छन् । सभाको विशेष समयमा शुभकामना आदानप्रदान गर्दै प्रदेशसभा सदस्यले प्रदेशको विकासका लागि सामूहिक एकता हुनुपर्ने, बेरोजगारी समस्या समाधानका लागि ठोस नीति निर्माण गरिनुपर्ने, सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप रोक्न ठोस सुरक्षा योजना तय गरिनुपर्ने धारणा राखेका छन् ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शिवराज भट्ट, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरी, नेकपा एस संसदीय दलका नेता दीर्घबहादुर सोडारी, राप्रपाकी प्रदेशसभा सदस्य खेमादेवी विष्ट र स्वतन्त्र सदस्य ताराप्रसाद जोशीले शुभकामनासहित आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्