बोक्सीको आरोपमा दलित महिलामाथि निर्घात कुटपिट



पर्सा । बोक्सीको आरोपमा पर्साको जगरनाथपुर गाउँपालिकाकी एक दलित महिलामाथि निर्घात कुटपिट भएको छ। जगरनाथपुर गाउँपालिका–३ खलुचडी बस्ने ६० वर्षीया सुदामा देवी चमइनलाई सोही स्थानका चार जनाले निर्घात कुटपिट गरेका हुन्।

आइतबार बेलुका ७ बजेतिर आफ्नै घरमा आगो तापेर बसिरहेका बेला सुदामा देवीलाई सोही स्थान बस्ने नबी आलम राउत गदी, रैफुल मास्टर राउत गदी, बासदेव महरा चमार र सुरेश महरा चमारले कुटपिट गरेको पीडितका छोरा प्रभु महराले जानकारी दिए।

पहिलेदेखि नै आफ्नी आमालाई उनीहरुले बोक्सीको आरोप लगाउँदै आएको उनले बताए। उनीहरुले मलमुत्रसमेत खुवाउने प्रयास गरेपछि गाउँलेले उद्धार गरेको महराले बताए। क‍ुटपिटबाट घाइते सुदामा देवीको घाँटी, हातखुट्टालगायतमा चोट लागेको तथा उनको नारायणी अस्पतालमा उपचार भइरहेको परिवारजनले बताएका छन्।

कुटपिटमा संलग्न रहेका चारै जनाविरुद्ध प्रहरीमा उजुरी दिएको महराले बताए। कुटपिटमा संलग्न भएका चारै जना गाउँ छाडेर फरार भएका छन्।

प्रतिक्रिया दिनुहोस्