कृषियोग्य जमिनको संरक्षण आवश्यक : अध्यक्ष तिमिल्सिना



काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तहले कृषि उत्पादनयोग्य जमिनको संरक्षण गर्न नसकेको बताएका छन् । आज काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको १५औँ वार्षिक साधारणसभामा उनले जग्गाको खण्डीकरण र बस्ती विस्तार रोकिनुपर्ने बताएका हुन् ।

उनले भने, “कृषियोग्य जमिन खुम्चिदैछ, जग्गा खण्डीकरण गरी प्लटिङ बढ्दो छ ।” उनले कृषियोग्य जमिन अभाव भइरहेको भन्दै सहकारी संस्थाले सामूहिक कृषिखेतीमा जोड दिनुपर्ने बताएका छन् । सहकारीमार्फत् प्रत्येक जिल्लामा एउटा सामूहिक कृषिजन्य सामग्री उत्पादन कार्यक्रम सुरु गर्न उनले आग्रह गरेका हुन् । सामूहिक खेतीमार्फत् कृषि उद्यमशिलता बढाउन सके व्यापार घाटा कम गराउन सकिने उनको भनाई छ ।

नेपालमा मात्रै उत्पादन हुने उपज र वस्तुको पेटेन्ट दर्ता हुनुपर्ने उनले बताए । कृषि उत्पादनलाई निर्यातमुखी बनाउन अर्ग्यानिक उत्पादन, विज्ञ जनशक्तिको सहभागिता र प्रविधिको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ । उनले किसानमुखी कानून निर्माण हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले किसानले मल र बिउ समयमा नपाउने, सिँचाइको अभाव र कृषि प्राविधिक जस्ता समस्या किसानले भोगिरहेको गुनासो गरेका छन् । उनले कृषि तालिम तथा अनुसन्धान केन्द्रको निर्माण गर्न सरकारले सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्