प्रधानमन्त्री प्रचण्डको निर्देशनमा राहदानी विभागको निरीक्षण गर्न जाँदै मुख्यसचिव



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा मुख्यसचिव शंकरदास बैरागी राहदानी विभागको वितरण शाखामा देखिएको प्राविधिक समस्याको विषयमा निरीक्षण गर्न त्रिपुरेश्वार जाने भएका छन् ।

बिहीबार दिउँसो ३ बजे मुख्यसचिव बैरागी अनुगमनमा जाने तयारी रहेको जनाइएको छ । प्रधानमन्त्री प्रचण्डले राहदानीको समस्या समाधान गर्न सरोकारवाला निकायका प्रमुखलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री प्रचण्डले लाइन लाग्नुपर्ने झन्झटिलो व्यवस्था दीर्घकालिन रुपमा समाधान गर्न मुख्यसचिवलाई निर्देशन दिएका छन् । बिहीबार उपप्रधानमन्त्रीहरु र मुख्यसचिवसँगको छलफल पछि प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएको हो ।

राहदानी वितरणमा देखिएको प्राविधिक समस्या समाधानका लागि छलफल थालेका प्रधानमन्त्री दाहालले सेवाग्राही लाइन लाग्नुपर्ने कारण पत्ता लगाएर त्यसको अन्त्य गर्न पनि निर्देशन दिएका छन्।

उनले लाइन नबसी राहदानी पाउने व्यवस्था मिलाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिएको स्रोतले जनाएको छ।

अध्यागमन विभागको राहदानी वितरण शाखामा देखिएको प्राविधिक समस्यालाई फेरि दोहोरिन नदिन निर्देशन दिनुभएका प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्रीहरु, मुख्यसचिव र विभागका प्रमुखहरुको छलफलमा राहदानी वितरणलाई झन्झटिलो नबनाउन के गर्न सकिन्छ ? भनेर प्रश्न समेत गरेका थिए ।

प्रधानमन्त्रीको निर्देशनलगत्तै प्राविधिक समस्या देखिएर काम रोकिएको राहदानी विभागमा प्रधानमन्त्री कार्यालयले प्राविधिक टोली त्रिपुरेश्वर पुगेको छ। बुधबार पनि प्राविधिक टोलीले अनुमगन गरेको थियो।

‘आज प्राविधिक टोलीले समस्या समाधानको उपाय पत्ता लगाउनेछ,’ आइटी क्षेत्रका नीजि कम्पनीहरु पनि त्रिपुरेश्वर पुगेका छन्, खास समस्या आज पत्ता लाग्छ र समाधान पनि आजै हुन्छ,’ त्रिपुरेश्वर पुगेका एक प्राविधिकले भने।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राहदानी बनाउने भीड हटाएर सहज रुपमा राहदानी वितरण व्यवस्था मिलाउन निर्देशन दिएकै दिन मेसिनमा प्राविधिक समस्या देखिएको विभागले सूचना निकालेको थियो।

साथै, प्रधानमन्त्री कार्यालयका प्राविधिक टोलीलाई कहिँ कतै पनि प्राविधिक समस्या आएर काम रोकिन नहुने भन्दै सजग भएर काम गर्न निदेशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्