नेप्से दोहोरो अंकले वृद्धि



काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ। दिनभर उतारचढाव भएको नेप्से करिब १ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम पनि ५ अर्ब नाघेको छ। लगातार बढेको बजारमा बिहीबार नाफा बुक गर्ने लगानीकर्ता र बजार बढ्ने आशामा नयाँ लगानीकताकर्ता प्रवेशले तीव्र उतारचढाव देखियो। जसले गर्दा कारोबार रकम पनि बढेर ५ अर्ब नाघेको हो।

साताको ५ कारोबार दिनमध्ये ४ दिन नेप्सेमा वृद्धि हुँदा मंगलबार भने एकल अंकको समान्य गिरावट भएको थियो। बुधबार करिब ६५ अंकको उच्च वृद्धि भएको बजार परिसूचक नेप्से बिहीबार पनि १७.९२ अंक (०.८४ प्रतिशत)ले वृद्धि भएर २१४३.७६ अंकमा बन्द भएको छ।

बजारलाई लिड गर्ने बैंकिङ सहित अन्य उपसमूह गिरावट भएपनि त्यसबाहेकका सबै उपसूचकमा वृद्धि हुँदा बजार परिसूचक नेप्सेलाई उचालेको हो। बिहीबार बैंकिङ उपसमूह ०.३१ प्रतिशत र अन्य उपसमूह ०.८७ प्रतिशतले गिवाट हुँदा होटल तथा पर्यटन उपसमूह ५.७५ प्रतिशतले वृद्धि भएको छ।

बिहीबार नेप्सेमा कुल ५ अर्ब ४ करोड ७ लाख ४१ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको मात्रै ४३ करोड १९ लाख ६७ हजारको कारोबार भएको छ। यस्तै रिडी पावरको २१ करोड ४१ लाख ८ हजार र हिमाल दोलखा हाइड्रोपावरको ११ करोड ८४ लाख ७९ हजारको कारोबार भएको छ।

बिहीबार नेप्सेमा कुल २१३ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १४७ कम्पनीको सेयरमूल्य बढेको छ। त्यस्तै ६२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ४ कम्पनीको सेयरमूल्य स्थिर छ। जसमध्ये ५ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशत र २ कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लेभलमा बन्द भएको छ। यता मनाकामना स्मार्ट लघुवित्तको सेयरमूल्य २.८८ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य २.८२ प्रतिशतले गिरावट भएको छ।

प्रतिक्रिया दिनुहोस्