बाग्मती प्रदेश सरकार प्रवक्तामा थपलिया



काठमाडौँ । बाग्मती प्रदेश सरकारको प्रवक्ताको जिम्मा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले पाएका छन् । प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले सरकारको प्रवक्ताको जिम्मा थपलियालाई तोकेको हो।

त्यस्तै, उक्त बैठकले प्रादेशिक संरचना निर्माणका लागि सङ्घीय सरकारसमक्ष पठाइएको जग्गा प्राप्ति सम्बन्धी सिफारिसको अनुगमन गर्ने निर्णय गरेको छ। उक्त विषयमा थप पहल गर्न प्रदेशको मुख्य सचिव मुकुन्दप्रसाद न्यौपानेलाई जिम्मेवारी दिइएको प्रवक्ता थपलियाले जानकारी दिए।

बैठकले प्रदेशको १४ वटा मन्त्रालयलाई घटाउने निर्णय गरेको हो। उक्त विषयमा अध्ययनका लागि मुख्यसचिव न्यौपानेको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरिएको छ। कार्यदललाई आगामी १५ दिनभित्र प्रतिवेदन तयार पारी पेस गर्न निर्देशन दिइएको छ।

समितिको सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिवलगायत रहने गरी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्