मनोहरामा घटे २२ प्रजाति पक्षी



काठमाडौं । मनोहरा नदी तटीय भाग र आसपासका क्षेत्रमा पक्षीका प्रजाति घटेका छन्। सो क्षेत्रमा गत वर्षको हिउँदयाममा १०६ प्रजातिका भेटिएकामा यस पटक ८४ प्रजाति मात्र अभिलेख भएका छन्।

वन्यजन्तु अनुसन्धाता सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीले गरेको हिउँदे चरा अवलोकनमा सो भेगमा आगन्तुक र रैथानेसहित ८४ प्रजाति पहिचान भएका छन् । जलचरमा आश्रित पक्षीको सङ्ख्या घटेको श्रेष्ठले बताए।

‘गत वर्ष भेटिएका २२ प्रजाति यस पटक देखिएनन्, मनोहरामा हिउँदमा आउने पाहुना चराको सङ्ख्या घट्न थालेको छ’, उनले द नेपालटप दैनिकसँग भने। नदी र सिमसार क्षेत्रमा बढ्दो मानवीय अतिक्रमण, बढ्दो शहरीकरणले चराको बासस्थान र विचरण क्षेत्र खुम्चिँदा पक्षीको सङ्ख्या घटेको श्रेष्ठको ठहर छ।

देशभर जारी हिउँदे जलपक्षी गणना अन्र्तगत उनको नेतृत्वमा मनोहरा र आसपासका क्षेत्रमा पक्षीको अवस्था नियालिएको हो। खोलामा जथाभावी फोहोर फ्याँक्ने, ढल मिसाउनेजस्ता क्रियाकलाप र नदी एवं सिमसार क्षेत्र आसपासका खेतबारीमा बढ्दो विषादीको प्रयोगले आहारा प्रजाति घट्दा पक्षीको सङ्ख्या पातलिन थालेका श्रेष्ठसहितका विज्ञको ठहर छ।

मनोहरा क्षेत्रमा बालुवा चोरी निकासीले गर्दा चराहरूको सङ्ख्यामा कमी आएको अध्ययन टोलीको निष्कर्ष छ। नदी र सिमसार क्षेत्रमा चराहरूको प्रजनन गर्ने सुरक्षित स्थान अतिक्रमण भएको अध्ययन टोलीका सदस्य सुरेश खम्बु श्रेष्ठले बताए।

मनोहरा नदी र मध्यपुर थिमि– ८ र ९ मा चीनको तिब्बत, मङ्गोलिया, रुसको साइबेरिया र आसपासका क्षेत्रबाट विभिन्न थरीका पक्षी जाडो छल्न आउँछन् । केही वर्षयता मनोहरामा हाँसका प्रजाति घट्न थालेका छन्। ‘मिनी कोसी’समेत भनिन थालिएको यस क्षेत्रमा हिउँद र गर्मी यामका पक्षीमा २४१ वटा पक्षी अभिलेख भएका छन्।

प्रतिक्रिया दिनुहोस्